लुम्बिनी समाचार

लुम्बिनीमा तिनदिने दोस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन सम्पन्न

लुम्बिनी । बुद्धको जन्मस्थल लुम्बिनीमा प्रमुख बुद्धधर्मको मूल ग्रन्थ त्रिपिटक वाचन सम्पन्न भएको छ । लुम्बिनी त्रिपिटक च्यान्टिङ आयोजक समितिको मुख्य आयोजना तथा प्रदेश ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, लुम्बिनी विकास कोष र थाई विहारको सहयोगमा दोस्रोपटक बुद्ध धर्मको मूल ग्रन्थ त्रिपिटक वाचन गरिएको हो । कार्तिक २८ गतेदेखी तीन दिन चलेको अन्तर्राष्ट्रियस्तरको त्रिपिटक वाचनमा नेपाल, भारत, श्रीलङ्का, म्यान्मार, थाइल्याण्ड, कोरिया, जापानलगायत २५ देशका भिक्षु, गुरुआमा, लामा, आनी तथा उपासक उपासिकाकोे सहभागिता रहेको आयोजक समितिका सचिव हेमबहादुर विष्टले जानकारी दिनुभयो । अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थविरका अनुसार कार्यक्रममा बुद्ध वचनको संग्रह त्रिपिटकअन्तर्गतका विनय पिटक, सूत्र पिटक र अभिधम्म पिटकको वाचन गरिएको थियो । मायादेवी मन्दिर परिसरमा सम्पन्न सो कार्यक्रममा पहिलो दिन नेपाली भिक्षुले सुत्रपिटक अन्तर्गतको दीर्घनिकायको ब्रह्मजालसूत्र वाचन गरेर त्रिपिटक वाचनको शुरुआत गरेको थियो । दोस्रो दिन म्यान्मारका भिक्षुले अभिधम्म पिटक वाचनको नेतृत्व गरेको थियो भने तेस्रो दिन थाई भिक्षुुले विनयपिटक वाचन गरी कार्यक्रमको नेतृत्व गरेको थियो ।

त्रिपिटक वाचनअघि लुम्बिनीसहित बुद्ध सर्किट क्षेत्रमा शान्ति पदयात्रा आयोजना गरिएको थियो । कार्यक्रमको पहिलो दिन कत्तिक २५ गते भैरहवा देखि रामग्रामसम्म शान्ति पदयात्रा भएको थियो दोस्रो दिन २६ गते भैरहवा देखि लुम्बिनीसम्म पदयात्रा कार्यक्रम गरी साँझ लुम्बिनीको मायादेवी मन्दिरमा पूर्णिमा उत्सव मनाइएको थियो । तेस्रो दिन लुम्बिनीदेखि कपिलवस्तुसम्म पदयात्रा गरेको थियो । त्रिपिटक बौद्ध धर्मको प्रमुख ग्रन्थ हो । गौतम बुद्धको महापरीनिर्वाणपछि विभिन्न संघमार्फत् बुद्ध वचनलाई एक सूत्रमा संग्रह गरिएको थियो । यसलाई नै त्रिपिटक भनिन्छ । अभिधम्म पिटक, सुत्त पिटक तथा विनय पिटकको संग्रह नै ‘त्रिपिटक’ हो । जसलाई सबै बौद्ध सम्प्रदायले मान्छन् । यो बौद्ध धर्मको पुरानो ग्रन्थ हो जसमा भगवान् बुद्धको उपदेश संग्रहित छ । यो ग्रन्थ पालि भाषामा लेखिएको छ भने विभिन्न भाषामा अनुवाद भएको छ । बोधगयामा बुद्धत्व प्राप्त गरेपछि ४५ वर्षसम्म भगवान् बुद्धले नेपाल, भारतसहित विश्वका विभिन्न मुलुकमा धर्मोपदेश गर्नुभएको थियो ।

त्रिपिटक वाचनको उद्घाटन गर्दै प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले रामग्राम भगवान गौतम बुद्धको अस्तिधातु पुरानै अवस्थामा रहेको चैत्य भएको र यसबारे पनि अध्ययन गर्ने, बुद्ध र बौद्ध धर्म अध्ययन गर्नेहरुको निम्ति संग्रहालय बनाउने तथा लुम्बिनी र यसका वरपरका विभिन्न ऐतिहासिक महत्वका स्थानहरुमा विविध निर्माण कार्य अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा अन्तर्राष्ट्रिय तिपिटक च्यान्टिङ्ग काउन्सिलका प्रतिनिधि वाङ्मो दिक्सेले लुम्बिनीमा भइरहेको त्रिपिटक पाठ कार्यक्रमको महत्व बारे प्रकाश पार्नुभएको थियो ।

कार्यक्रमका संयोजक भिक्षु मैत्री महास्थविरले विविध क्षेत्रमा सहयोग गर्नुहुने महानुभावहरुलाई सम्मान एवं कदरपत्र प्रदान गर्नुभएको थियो । उहाँले गत वर्षको कार्यक्रमले राम्रो सन्देश दिएर उत्साह थपेको चर्चा गर्दै त्यसैको प्ररेणाले यसवर्ष पनि कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले त्रिपिटक वाचनले लुम्बिनीमा विश्वका बौद्धमार्गीको ध्यान आकर्षित हुने विश्वास व्यक्त गर्नुभयो । -जितेन्द्रराज शिल्पकार

प्रकाशित मिति: सोमवार, मंसिर ९, २०७६