सुदुरपश्चिम

नगरपालिकाका बासिन्दा पहिरोका कारण रातभर जाग्राम

दार्चुला, १ साउन। महाकाली नगरपालिका– दत्तुका ७० वर्षीय विशनसिह गोयलाको गत असार २६ गतेबाट रातको निद्रा हराएको छ । दत्तु–थाप्ला–मालिकार्जुन सडक निर्माणका क्रममा सडकबाट पहिरो खसेपछि उहाँको घर जोखिममा परेको छ । पहिरो आएपछि सबैभन्दा माथिको घर उहाँकै परेको छ । पक्की घर र एउटा भान्छा छ । दुई घरको बीचबाट पहिरो गएको छ । उहाँले उक्त सडक निर्माणका क्रममा धेरै पटक घरमाथिको डाँडा भएर सडक नलैजान भन्नुभयो तर, उहाँको जोड चलेन । रातिराति गाउँ माथिको सुख्खा डाँडा भत्काएर सडक काटियो । एउटै मोडमा सडक जानुपर्नेमा चारवटा मोड हालियो । अहिले त्यही जबरर्जस्ती स्थानीयवासीको विरोधकाबीच काटिएको सडकले अहिले दत्तु ठेका गाउँका आधादर्जन बढी घर जोखिममा छन् ।

उहाँले भन्नुभयो, “मैले घरमाथिको डाँडा नकाट्न अनुरोध गरेकै हु, मानेन्, अब घर बचाई दिनुप¥यो, माथिबाट पहिरो आउँदैनथ्यो, अहिले सडक काटेपछि पहिरो आएको हो ।” पहिरोले पानी नआउने ठाउँमा खोला बग्ने बनेको छ । डाँडाबाट आएको पहिरो, तल दत्तु सडकसम्मै पुगेको छ । “पानी परेको प¥यै हुन्छ, रातभर आलोपालो जाग्राम बस्नु परेको छ”, उहाँले भन्नुभयो । नगरपालिकाका इञ्जिनीयरले सडक निर्माणमा लापरवाही गरेका कारण अहिले गाउँ जोखिममा परेको स्थानीय राजेन्द्र नगारीले बताउनुभयो । सडक एलाइटमेन्ट कहाँ लैजानुपर्छ भन्ने जानकारी नहुँदा अहिले गाउँ जोखिममा परेको उहाँले बताउनुभयो ।

अर्का स्थानीयवासी धनसिंह भाटकाअनुसार अहिले पानी परेको रात जाग्राम बस्नुपरेको छ । अहिलेदेखि नै पहिरो संरक्षणका लागि ध्यान नदिए पूरै गाउँ बग्ने नागरिकको भनाइ छ । “पहिरो गएको एकसाता भयो, अहिलेसम्म त्रिपालबाहेक केही सहयोग पाइएको छैन्, हाम्रो जमीन क्षति भइसकेको छ, अर्कै ठाउँमा स्थानान्तरण गरिदिनुप¥यो”, उहाँले भन्नुभयो । यस्तै दत्तुकै थाप्ला क्षेत्रमा पनि पहिरोको जोखिम देखिन थालेको छ । थाप्लामा प्रकाशसिंह सामन्त, सीता समान्त, तारा धामी र त्रिलोक सामन्तका घर जोखिममा परेका छन् । यस्तै प्रदेश सरकारको सहयोगमा निर्माण भइरहेको प्रसूतिगृह भवनमासमेत क्षति पुगेको छ ।

प्रकाशित मिति: बुधबार, साउन १, २०७६