स्थानीय

महानगरको लेखा परीक्षण प्रवेश बैठक सम्पन्न, कामको औचित्य र प्रभाव पुष्टि गर्ने समय : प्रमुख प्रशासकीय अधिकृत न्यौपाने

काठमाडौं । आफूले गएको बर्ष सम्पन्न गरेको कामको औचित्य र प्रभावकारिता पुष्टि गर्ने समय आएको बताउँदै काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले करदाताले तिरेको कर सदुपयोग भएको प्रत्याभूति हुनु पर्ने बताउनुभएको छ । महानगरको सभा कक्षमा आयोजना गरिएको बर्ष २०७५/०७६ को लेखा परीक्षण प्रवेश बैठकमा बोल्दै उहाँले महानगरको सेवा र पूर्वाधार बिकासमा धेरै निकायलाई जिम्मेवारी भएकाले सुबिधा वितरणमा समस्या भएको उल्लेख गर्नुभयो । यसो हेर्दा काठमाडौंका सडक बनाउने १७ वटा निकाय रहेछन् । एउटै सडक देखाएर सबै निकायबाट रकम भुक्तानी हुने खतरा छ, उहाँले थप्दै भन्नुभयो — यस्ता समस्या पनि महालेखा परीक्षणका क्रममा औंल्याउनुपर्छ ।

बैठकमा नायव महालेखा परीक्षक बामदेव अधिकारीले — लेखा परीक्षणसँगै बेरुजु समपरीक्षण पनि हुने बताउँदै लेखा परीक्षणका समयमा आवश्यक पर्ने श्रेस्तालगायतका कागजपत्र उपलब्ध गराइदिन आग्रह गर्नुभयो । बिधिविधानबमोजिम सम्पन्न भएका कामलाई प्रमाणित गराउने तथ्य भएन भने बेरुजु हुन्छ । त्यसप्रकारको जोखिम कम गराउन पनि महानगरका अधिकारीको सक्रियता चाहिन्छ, उहाँको जोड थियो । लेखा परीक्षण कार्यलाई सहज बनाउन मंगलबार नै बित्त बिभागका प्रमुख बुद्धरत्न मानन्धरको संयोजकत्वमा ३ सदस्यीय सहजीकरण समिति गठन गरिएको छ । समितिको सदस्यमा बजेट महाशाखा प्रमुख दीपक अधिकारी र आन्तरिक लेखा परीक्षण प्रमुख गोपाल पोख्रेल सदस्य हुनुहुन्छ ।

बजेट महाशाखा प्रमुख अधिकारीका अनुसार महालेखा परीक्षकको कार्यालयले — साबिकमा रजिष्र्टर्ड लेखापरीक्षकबाट महानगरको अन्तिम लेखा परीक्षण हुँदै आएकोमा संबैधानिक व्यवस्थाबमोसजिम आ. व २०७३/०७४ देखि महालेखा परीक्षकको कार्यालयले महानगरको अन्तिम लेखा परीक्षण कार्य गर्दै आएको छ । उहाँ थप्दै भन्नुहुन्छ — महालेखाको परीक्षणबाट सैद्धान्तिक बेरुजुको व्यवस्थापनका बिषयमा पनि सुझाव आउने भएकोले महानगरलाई बित्तिय व्यवस्थापनमा सहयोग पुगेको छ । महालेखा परीक्षकको कार्यालयबाट टिप्पणीमा औल्याएका कमजोरीलाई नीतिगत र व्यवहारिक रुपमा सच्याउँदै जाँदैछौं, आन्तरिक लेखा परीक्षण प्रमुख पोख्रेल भन्नुहुन्छ — बित्तिय शुशासनका लागि आन्तरिक नियन्त्रण प्रणालीको बिकास गरेका छौं । यसबाट आन्तरिक क्षमता बढेको छ । यसकारण गएको बर्षमाभन्दा यस बर्षमा सुधारका संकेत देखिनेछन् ।

गएको बर्ष महालेखा परीक्षकको कार्यालय ३ जना निर्देशक २ जना चार्टर अकाउन्टेन्टसहित १२ जनाको ३ वटा टोलीले लेखा परीक्षण गरेको थियो । यस बर्ष परीक्षणको शुरुवात्मा वडा १ देखि वडा १० सम्म वडा तहबाट काम शुरुवात् हुने भएको छ । त्यसपछि खर्च र आम्दानी गर्ने विभाग तथा आयोजनाको परीक्षण हुनेछ । महालेखाले नियमितता, मितव्ययिता औचित्यता प्रभावकारिता र कार्यदक्षताका आधारमा आय र खर्च हुने ठाउँको परीक्षण गर्छ । प्रचलित नीति र व्यवस्थाबमोजिम खर्च गर्ने बिधि र पद्धति तथा यसबाट लाभग्राही पुगेको लाभ मुल्याङ्कनका आधारहरु हुन् ।-चन्द्रमणि भट्टराई

प्रकाशित मिति: मङ्लबार, कार्तिक १९, २०७६