सुनकोसी न्यूज
वैशाख १० गते बिहिबार
काठमाडौं: आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया अघि बढाउन ‘बजेट क्यालेन्डर’ लगभग टुंगो लागेको छ। Ram Chandra Paudel ले संघीय संसदको अधिवेशन वैशाख १७ गते दिउँसो २ बजेका लागि आह्वान गरिसकेका छन्।
बजेट अधिवेशन सुरु भएसँगै सरकारले पहिलो चरणमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको छ। त्यसपछि मात्रै विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता (प्रि–बजेट) माथि छलफल गरिने कार्यतालिका बनाइएको छ।
सभामुख अर्याल र अर्थमन्त्री वाग्ले बीच भएको छलफलपछि यस्तो कार्यसूची तय भएको हो। संघीय संसदका प्रवक्ता एकराम गिरीका अनुसार यसपटक पछिल्लो अभ्यासअनुसार अघि बढ्दै पहिले नीति तथा कार्यक्रम, त्यसपछि प्रि–बजेट र अन्त्यमा बजेट प्रस्तुत गरिनेछ।
स्रोतका अनुसार वैशाख २० देखि २२ गतेभित्र राष्ट्रपतिबाट संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिनेछ। त्यसमाथि करिब पाँच दिन छलफल हुने र त्यसपछि वैशाख अन्तिम साता प्रि–बजेट प्रस्तुत गर्ने तयारी छ।
अर्थमन्त्रीले प्रस्तुत गर्ने बजेटका सिद्धान्त तथा प्राथमिकतापछि जेठ १५ गते संघीय संसदमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट पेश गरिनेछ।
सरकारले यसपटक करिब १८ खर्ब ९० अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरिरहेको छ। बजेट निर्माणका लागि अर्थ मन्त्रालयअन्तर्गत पाँच सदस्यीय टोलीले मस्यौदा तयार पार्ने काम गरिरहेको छ।
एकल सरकार भएकाले यस वर्ष बजेट निर्माणदेखि कार्यान्वयनसम्म एउटै नेतृत्व रहने अपेक्षा गरिएको छ। अर्थमन्त्री वाग्लेले आगामी बजेटलाई रुपान्तरणकारी र सन्तुलित बनाउने तयारी गरेका छन्।
















Add Comment