सुनकोसी न्यूज
चैत २५ गते बुधबार
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा विरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको छ।
सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका क्रममा अस्वाभाविक आर्थिक कारोबार भेटिएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको सिफारिसमा अदालतबाट पक्राउ अनुमति लिइएको स्रोतले जनाएको छ।
पक्राउ पूर्जी जारी भए पनि देउवा दम्पती हाल विदेशमा रहेका कारण उनीहरूलाई तत्काल पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ। उनीहरू १४ फागुनमा उपचारका लागि सिंगापुर गएका थिए र त्यसपछि हङकङ पुगेको बताइएको छ। एक महिना बढी समय बित्दा पनि उनीहरू नेपाल फर्किएका छैनन्।
प्रहरीले अब इन्टरपोलमार्फत नोटिस जारी गरी उनीहरूलाई नियन्त्रणमा लिन प्रक्रिया अघि बढाउने तयारी गरेको छ। आवश्यक अदालती कागजात प्राप्त भइसकेकाले इन्टरपोल नोटिसका लागि बाटो खुलेको प्रहरी अधिकारीहरूको भनाइ छ। नोटिस जारी भएमा इन्टरपोलका सदस्य राष्ट्रहरूले उनीहरूलाई पक्राउ गर्न सक्नेछन्।
यसैबीच, अनुसन्धानका क्रममा देउवा परिवारसँग सम्बन्धित करिब ७३ रोपनी जग्गा खरिद, बैंक कारोबार तथा नातेदारमार्फत भएका आर्थिक लेनदेनको विवरण संकलन भइरहेको जनाइएको छ।
देउवा निवास बूढानीलकण्ठमा यसअघि भएको आगजनी घटनापछि जलेका नोट फेला परेको विषयले समेत अनुसन्धानलाई थप गम्भीर बनाएको छ। प्रमाण नष्ट हुनसक्ने आशंकामा उक्त घर भत्काउने कार्यसमेत रोकिएको छ।
यस प्रकरणमा थप अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मार्फत अघि बढाइएको छ।

















Add Comment