मुख्य समाचार समाचार हेडलाईन न्युज

‘तेल भिसा’ का निर्माता कार्की पक्राउ: २५० जनालाई विदेश पठाइदिन्छु भन्दै ठगी, भारतबाट लुकेर बसेका थिए

सुनकोसी न्यूज

चैत १० गते मंगलबार

काठमाडौं  — विदेश पठाइदिने प्रलोभन देखाएर सयौं युवालाई ठगी गरेको आरोप लागेका चलचित्र तेल भिसा का निर्माता शिवराज कार्की पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई स्वयम्भूबाट नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार सिन्धुलीको सुनकोशी गाउँपालिका–७ का कार्कीले २५० जनासम्मलाई वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेका थिए। हालसम्म १०० भन्दा बढी पीडित प्रहरीको सम्पर्कमा आइसकेका छन् भने उनीविरुद्ध वैदेशिक ठगीका ६ वटा पक्राउ पुर्जी जारी भइसकेका छन्।

पक्राउअघि कार्की भारतको नयाँ दिल्लीस्थित पहाडगञ्जमा लुकेर बस्दै आएका थिए। उनीबाट भारतीय आधार कार्ड र प्यान कार्ड समेत बरामद भएको छ। भारतमै ‘अन्नपूर्ण फास्टफुड’ सञ्चालन गरेर बस्दै आएको समेत खुलेको प्रहरीले जनाएको छ।

काठमाडौंको चाबहिलमा ‘पी एण्ड एम इनोभेशन सर्भिस’ नामक कन्सलटेन्सी सञ्चालन गर्दै आएका कार्कीविरुद्ध यसअघि पनि बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता भइसकेको थियो।

प्रहरीले उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाएको जनाएको छ।

प्रकाशित मिति: मङ्लबार, चैत्र १०, २०८२

 

 

ताजा अपडेट