जीवनशैली मुख्य समाचार

एमाले हुँदाको उकुसमुकुस

सुनकोसी न्युज
२०७८ चैत ३०, झापा । कसैको आँखामा राखे पनि नबिझाउने मेचीनगर–८, झापाका तिलक दर्जी मजदुर आन्दोलनका एक असल, सरल र कर्तव्यनिष्ठ नेता हुन् । उनी नेकपा (एमाले) मेचीनगर नगर कमिटी सदस्य र मजदुर विभाग प्रमुखका रूपमा कार्यरत थिए । ‘मैले उक्त जिम्मेवारीमा नरहने घोषणा गर्दै एमाले पार्टी परित्याग गरेको छु ।’ मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्– ‘यस जिम्मेवारीका लागि म एमालेप्रति हार्दिक कृतज्ञ छु । र, म आजैदेखि नेकपा (माओवादी केन्द्र) मा आवद्ध भएको छु ।’
खासमा दर्जीको राजनीतिक जीवनको पृष्ठभूमि माओवादी नै थियो । मजदुर राजनीतिमा अगाडि बढ्दै गर्दा आम श्रमजीवी हितको पार्टी देखेर नै उनी माओवादीमा आवद्ध भएका थिए । पार्टीनिकट अखिल नेपाल चिया तथा बगान मजदुर संघको केन्द्रीय सचिवसम्मको भूमिकामा थिए उनी ।
उनले भने– ‘०७५ मा एमाले र माओवादी केन्द्रको एकता भएपछि हामी सबै स्वतः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भयौं । माओवादी जनयुद्धका महान उपलब्धिहरू स्वीकार गर्दै सिद्धान्तका रूपमा ‘जनताको जनवाद’मा सहमत भएर एकीकृत कम्युनिष्ट पार्टी बन्ने त्यो प्रक्रिया आफैमा ऐतिहासिक थियो ।’
तर, विविध कारणले त्यो एकता बच्न सकेन । एमाले र माओवादी केन्द्रले आ–आफ्नै बाटो लिदा उनी एमालेतिर रहे । ‘एमालेले मलाई विश्वास गरेर महत्वपूर्ण जिम्मेवारी दिएकै हो । तर, जब विचार, सिद्धान्त, देशमा युगान्तकारी परिवर्तनको आधार, सामाजिक न्यायसहित समाजवादको आधार र अबका नीतिगत प्राथमिकताका कुरा आउँछन्, मलाई भित्रैदेखि उकुसमुकुस हुन्छ । के म मनैदेखि एमाले हुँ ? भन्ने अन्तरद्वन्द्वले मलाई चिमोट्छ । आफ्नो अन्तर मनलाई र आफू संगठित भएको पार्टीलाई मैले धोका दिन मिल्दैन ।’ उनले विज्ञप्तिमा भनेका छन्– ‘त्यसैले एमालेका साथीहरूसँग सौहार्द सम्बन्ध हुँदाहुँदै पनि म माओवादी केन्द्रमा आबद्ध भएको हुँ । साथीहरू ! अन्यथा नबुझ्नुहोला, यसको एउटै कारण विचार–सिद्धान्त मात्रै हो ।’
उनले थप भनेका छन्– ‘म मजदुर वर्गले, आम शोषितपीडितले र जनताको झुपडीले न्याय पाउने आमूल परिवर्तनको राजनीतिप्रति बिश्वास गर्छु । त्यही बिश्वासले मलाई फेरि जनताको प्यारो पार्टी माओवादी केन्द्रमै ल्याइपु¥याएको छ। पार्टीले दिने जुन कुनै उचित जिम्मेवारीमा म आफ्नो क्षमताले भ्याएसम्म दत्तचित्त हुनेछु । क्रान्तिकारी अभिवादन सहित !’

 

प्रकाशित मिति: बुधबार, चैत्र ३०, २०७८