प्रदेश २ मुख्य समाचार

सिमरामा लिक भएको बुलेटको ग्यास नियन्त्रणमा, सवारी सुचारु

सुनकोशी न्युज, २०७६ माघ २
सिमरा, बारा । भारतको रक्सौलबाट नेपाल आउँदै गरेको ग्यास बुलेटबाट ग्यास लिक भएपछि पथलैया–वीरगञ्ज सडकखण्ड दुई घण्टा भन्दाबढी अवरुद्ध भएको छ । भारतबाट ग्यास लिएर चितवनतर्फ जाँदै गरेको एम एल ०१ के ५८९५ नम्बरको ग्यास बुलेटबाट ग्यास लिक भएको थियो ।

रक्सौलबाट ग्यास भरेर नेपाल आउँदै गरेको बुलेट जितपुर सिमरा उपमहानगरपालिका–२ सूर्य नेपाल अगाडि आइपुग्दा ग्यास लिक भएको थाहा भएको हो ।
बुलेटबाट ग्यास लिक भएपछि पथलैया र जितपुरमा सबै सवारी साधन रोकेर लिक भएको ग्यास नियन्त्रण गरिएको छ । अमर ग्यासका कर्मचारी र सुरक्षाकर्मीको सहयोगमा लिक भएको बुलेटलाई लगातारको प्रयासपछी ‘लिक’ नियन्त्रण गरिएको छ ।

ग्यास ‘लिक’को हल्लाले स्थानियबासी त्रसित बनेका छन् । प्रहरीले सावधानी अपनाउन आसपासमा खाना पकाउने ग्यास समेत प्रयोग नगर्न, सलाई , लाइटरको प्रयोग नगर्न भनेपनी स्थानियहरु त्रसित बनेका हुन् ।

पथलैया–वीरगञ्ज सडकखण्डको सुर्य नेपाल अगाडी केही दिनदेखी सडकमै फसेर बसेको बुलेटलाई आज जेसिवीको सहयोगले धकेल्ने क्रममा बुलेटको मिटरमा ठक्कर लागी लिक भएको थियो । ‘लिक’ नियन्त्रणमा आएसंगै ठप्प भएको सवारी आवागमन सुचारु भएको छ

प्रकाशित मिति: बिहिबार, माघ २, २०७६