बंगलादेशमा भइरहेको एसिसी इमर्जिङ टिम्स कपमा नेपालले पहिलो जित हात पारेको छ।
यसअघि आफ्नो पहिलो खेलमा भारत यु-२३ टिमसँग पराजित भएको नेपालले शनिबार हङकङलाई ४० रनले पराजित गरेको हो।
नेपालले दिएको २१८ रनको लक्ष्य पछ्याएको हङकङ ४५.५ ओभरमा १७७ रनमै अलआउट भयो।
हङकङको इनिङ ध्वस्त पार्ने क्रममा नेपालका तीव्र गतिका बलरद्वय अभिनास बोहरा र करण केसीले ३–३ विकेट लिए। सुसन भारीको नाममा २ विकेट रह्यो।
ब्याटिङमा हङकङका किन्चित ५३ रन र इशान नवाजले ४४ रनको योगदान दिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ५० ओभरमा २१७ रनमा अलआउट भयो।
नेपालका लागि शरद भेषवाकरले सबैभन्दा बढी ८९ रनको योगदान दिए। उनले १३९ बलमा ९ चौका प्रहार गरे। मोहमद आरिफ शेखले ४२ रन र दीपेन्द्रसिंह ऐरीले ३७ रन बनाए।
विनोद भण्डारी १५ रनमा आउट हुँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्। हङकङविरुद्ध पनि कप्तान ज्ञानेन्द्र मल्ल ० रनमा आउट भए। अर्का ओपनर कुशल भुर्तेलले १ रन मात्र जोड्न सके।
अब नेपालले समूह चरणको अन्तिम खेल मंसिर २ गते बंगलादेशसँग खेल्नेछ।
नेपाली टिममा पूर्व कप्तान पारस खड्का र सन्दीप लामिछाने छैनन्। दुवै जनाले युएईमा हुने टी-१० लिग खेल्नका लागि क्यानसँग अनुमती लिएका थिए।
मंसिर ७ गतेसम्म हुने टिम्स कपमा नेपाल समूह ‘बी’ मा छ। नेपालको समूहमा आयोजक बंगलादेश, भारत र हङकङ छन्।
Add Comment