सुनकोसि न्यूज
जेष्ठ ८ गते, शुक्रबार
काठमाडौं । संघीय निजामती सेवा विधेयकको मस्यौदा कानुन बन्ने प्रक्रियामा थप अघि बढेको छ। भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले तयार पारेको विधेयकको मस्यौदा अर्थ मन्त्रालयबाट स्वीकृत भएर पुनः संघीय मामिला मन्त्रालयमा फर्किएको हो।
संघीय मामिला मन्त्रालयका सहसचिव एकदेव अधिकारीका अनुसार अर्थ मन्त्रालयले गत बुधबार विधेयक फिर्ता पठाएको हो। अब उक्त मस्यौदा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइने तयारी गरिएको छ।कानुन मन्त्रालयबाट आवश्यक रायसुझावसहित फिर्ता आएपछि विधेयक मन्त्रिपरिषद्मा पेश गरिनेछ। मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि मात्र विधेयक संघीय संसद्मा दर्ता हुने प्रक्रिया अघि बढ्ने बताइएको छ।
प्रस्तावित विधेयकमा निजामती सेवामा प्रवेशका लागि महिलाको अधिकतम उमेर ३५ वर्ष र पुरुषको ३२ वर्ष कायम गर्ने प्रस्ताव गरिएको छ। त्यस्तै, कर्मचारीको अवकाश उमेर ६० वर्ष बनाउने व्यवस्था पनि मस्यौदामा समेटिएको छ।विधेयकमा निजामती सेवाबाट अवकाश वा राजीनामा दिएका कर्मचारीलाई निश्चित समयसम्म संवैधानिक वा राजनीतिक नियुक्तिमा जान नपाउने ‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधान पनि राखिएको छ।
यसअघि सरकारले अध्यादेशमार्फत कर्मचारी ट्रेड युनियनको व्यवस्था हटाइसकेको अवस्थामा प्रस्तावित विधेयकमा पनि ट्रेड युनियनसम्बन्धी व्यवस्था समावेश गरिएको छैन।














Add Comment