समाचार

सिंगापुर भिडियो ‘कन्फरेन्स’ विवादमा

१२ भदौ २०७६

महासचिव भन्छन् : भिडियो संवाद हो, मन्त्रिपरिषद् होइन

काठमाडौं : भदौ ९ गते सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्माले भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषदको बैठकको अध्यक्षता गरेको समाचारले चर्चा पायो । बैठकमा प्रधानमन्त्री ओली भिडियो ‘कन्फरेन्स’बाट सहभागी भएको भन्दै समाचार बने ।

बैठकमा प्रधानमन्त्री सिंगापुरबाट भिडियो कन्फेरेन्समा र अरू सबै मन्त्रीहरु प्रधानमन्त्री कार्यालयमा उपस्थित भए । बाहिर यही प्रचार भयो ।

यसको चौतर्फी विरोध भएपछि बुधबार अन्नपूर्णसँग कुरा गर्दै नेकपा महासचिव विष्णु पौडेलले त्यो भिडियो संवादमात्र भएको बताए । उनले त्यसलाई मन्त्रिपरिषद् भनेर स्वीकार गरेनन् ।

‘यो विषयमा सही सूचना सम्प्रेषण नभएको हो कि झैं लाग्छ। त्यो त मन्त्रिपरिषद्को बैठक नभएर प्रधानमन्त्री, कार्यवाहक प्रधानमन्त्री तथा मन्त्रीहरूको भिडियो संवाद थियो’, अन्नपूर्णसँगको विशेष कुराकानीमा पौडेलले भने, ‘प्रधानमन्त्रीले मन्त्रीहरूसँग अपडेट लिनुभएको हो।’

सरकारका प्रवक्ता भन्छन् : भिडियो कन्फरेन्स मात्रै हो क्याबिनेट होइन 

बिहीबार प्रतिनिधिसभाको बैठकमा सार्वजनिक महत्वको विषयमा बोल्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सिंगापुरमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भिडियो कन्फ्रेन्स मात्रै  भएको दाबी गरेका छन् ।

उनले त्यो संवाद मन्त्रिपरिषद् नभएर ‘हाइ हेल्लो’ मात्र भएको बताए । उनले यो विषयमा भ्रम फैलाउनुपर्ने आवश्यकता नभएको बताए । उनले हामी टेक्नोलोजीमा हामी पनि सक्षम छौँ भन्ने प्रमाणित भएको दाबी गर्दै मन्त्रिपरिषद् बैठक नबसेको प्रष्ट पारे ।

‘यहाँ कुनै सुरक्षाको प्रश्न छैन । हामी आफैँ पनि व्यक्तिगत रुपमा भिडियो कन्फरेन्स गर्न सक्छौँ । तर, यहाँ प्रधानमन्त्रीले मन्त्रीसँग कुरै गर्नु हुँदैन भनेजस्तो गरियो’, उनले भने, ‘प्रधानमन्त्रीको देशभक्तिको आस्थामाथि नै प्रश्न उठाउने काम भएकाो छ । यो ठिक छैन ।’

प्रधानमन्त्रीसँग भिडियो कन्फरेन्समा संवाद भएको तर कुनै एजेण्डा नभएको उनको भनाइ छ । ‘हामीले क्याबिनेट बैठक भनेर भनेका छैनौँ । त्यहा एजेण्डा पनि कुनै थिएनन् । कुनै विषय पास गरिएन’, मन्त्री बाँस्कोटाले भने, ‘यो हाम्रो पहिलो प्रयास हो । राम्रो अभ्यास हो । यो क्याबिनेट बैठक होइन । तर, कहाँबाट क्याबिनेट–क्याबिनेट भन्ने आयो थाहा भएन ।’

सोमबार नै प्रधानमन्त्री केपी शर्माको आफिसियल ट्विटमा भने भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक भनेर लेखिएको छ । ट्विटमा प्रधानमन्त्रीले प्राविधिक टिमलाई धन्यवाद दिँदै टेलिप्रिजेन्टमार्फत मन्त्रिपरिषद्को बैठक भएको उल्लेख गरेका छन् ।

‘प्रविधि र प्राविधिकलाई धन्यवाद दिन चाहन्छु। आज पहिलो चोटी सिंगापुरबाट टेलिप्रिजेन्समार्फ़त मन्त्रिपरिषदको बैठक बस्न सकियो’, प्रधानमन्त्रीको ट्विटमा लेखिएको छ, ‘मन्त्रिपरिषदका सबै सहभागी साथीहरूलाई धन्यवाद । प्रधानमन्त्री तथा मन्त्रिपरिषद सचिवालयका सबै सहयोगीहरूलाई धन्यवाद।’

अब प्रश्न उठेको छ । प्रधानमन्त्रीको ट्विटको विश्वास गर्ने कि ? पार्टी महासचिव र  सरकारका प्रवक्ताको विश्वास गर्ने ? प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललेसमेत सोमबार ट्विटमार्फत नै टेलिकन्फरेन्समार्फत् मन्त्रिपरिषद् बैठक बसेको बताएका छन् । उनले तस्बिरसमेत पोस्ट् गरेका छन् ।

प्रकाशित मिति: बिहिबार, भदौ १२, २०७६