काठमाण्डौं । लगातार युद्व र ध्वंशकाे प्रतिस्पर्धामा उत्रिएका इजरायल र लेबनान लामाे समयको कसरतपछि युद्वविराम गर्न तयार भएका छन् ।
१४ महिना लामो युद्धपछि अन्ततः इजरायल र लेबनानको लडाकु समूह हेजबुल्लाह युद्धविरामका लागि सहमत भएका हुन् । दुई पक्षबीच बुधबार बिहान ४ बजेदेखि लागू हुने गरी युद्धविराम भएको छ । युद्धविराम भएसँगै इजरायल–लेबनान सीमा क्षेत्र शान्त बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
युद्धविराम सम्झौतामा इजरायली सेना ६० दिनभित्र लेबनानबाट फिर्ता हुने उल्लेख छ । त्यस्तै, इजरायल र हेजबुल्लाहलाई लेबनान र इजरायलबीचको अनौपचारिक सीमा ‘ब्लु लाइन’ र लिटानी नदीबाट करिब ३० किलोमिटर भित्रको क्षेत्रबाट आफ्ना लडाकु तथा हातहतियार हटाउन दुई महिनाको समय दिइएको छ ।
लेबनानको दक्षिणी क्षेत्रमा रहेका हेजबुल्लाह लडाकु अन्यत्र सर्ने र उक्त क्षेत्रमा लेबनानी सेना परिचालन गरिने जनाइएको छ । लेबनानले सम्झौताअनुसार दक्षिणी क्षेत्रमा करिब दस हजार सेना तैनाथ गर्ने तयारी छ । केही लेबनानी सेना दक्षिणी क्षेत्रमा परिचालन भइसकेको बीबीसीले जनाएको छ ।
Add Comment