मुख्य समाचार समाचार साहित्य

वाङ्मय परिषदद्वारा चार स्रष्टालाई सम्मान

काठमाडौँ । नेपाल वाङ्मय परिषदले चार स्रष्टालाई सम्मान गर्ने घोषणा गरेको छ । हरेक वर्ष चार स्रष्टालाई सम्मान गर्दै आएको परिषदले यस पटक पनि ४ जना स्रष्टालाई सम्मान गर्ने घोषणा गरेको हो ।

 

परिषदको सचिवालय समितिको निर्णयद्वारा वि.सं. २०८० का लागि नेपाल एवम् भारतका ४ स्रष्टाको चयन गरेको छ । नेपाली वाङ्मय साधना सम्मान पर्साका गोपाल अश्कलाई प्रदान गर्ने निर्णय भएको छ ।
भाषा आयोगका सदस्य समेत रहेका अश्क लेखक, सम्पादक तथा अनुवादक हुन् । उनको लेखन, सम्पादन तथा अनुवादमा नेपाली, भोजपुरी, हिन्दी, अंग्रेजी भाषाका गरी ६ दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।

वाङ्मय परिषदका अध्यक्ष साहित्यकार डा पुष्कर भट्ट ।

यसरी नै पद्मा–रामचन्द्र लघुकथा सम्मान साहित्यकार नवराज रिजाललाई अर्पण गर्ने निर्णय भएको छ । रिजाल लघुकथा, मुक्तक, समीक्षा एवम् ‘नवप्रज्ञापन’ साहित्यिक पत्रिकाका लागि कलम चलाउँछन् । रिजालका चार दर्जन कृति प्रकाशित छन् ।

यसैगरी राधिका–गोपालदत्त लघुकथा सम्मान भारतको हरियाणा निवासी लघुकथाकार डा. रामनिवास मानवलाई प्रदान गरिने भएको छ । मनुमुक्त मेमोरियल ट्रष्टका अध्यक्ष समेत रहेका मानवका हिन्दी साहित्यमा करिब ६ दर्जन कृति रहेका छन् ।

यसै गरी कर्मयोद्धा सृजना सम्मान बैतडीका कवि राजेन्द्र तारकिणीलाई प्रदान गरिने भएको छ । साहित्य, पत्रकारिता एवं कला क्षेत्रमा समेत सक्रिय तारकिणीका साहित्यतर्फ ४ वटा कृति, गैरसाहित्यतर्फ २ वटा कृति प्रकाशित छन् भने उनको सम्पादनमा धेरै पुस्तक प्रकाशित छन् ।

सम्मानमा नगद १० हजार रूपैयाँ, सम्मान–पत्र तथा दोसल्ला रहेको परिषदका अध्यक्ष डा. पुष्करराज भट्टले बताए ।

प्रकाशित मिति: बिहिबार, मंसिर १३, २०८१