समाचार

प्रधानमन्त्रीको स्वास्थ्य सामान्य, निजी चिकित्सक सिंह फर्किन्

 ११ भदौ २०७६ १७:२७:००

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य स्थितिमा रहेको उनको निजी सचिवालयले जनाएको छ। सिंगापुरको नेसलन युनिर्भसिटी हस्पिटलमा ‘प्लाज्मा फेरेसिस’ प्रकृयाबाट प्रधानमन्त्री ओलीको उपचार जारी छ। गत बिहीबार सिंगापुर गएका प्रधानमन्त्रीको शुक्रबारदेखि अस्पताल भर्ना भएका थिए।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालका अनुसार प्रधानन्त्रीका निजी चिकित्सक प्रा. डा. दिब्या सिंह स्वदेश फर्किएकी छन्। ‘सम्माननीय प्रधानमन्त्रीज्यूको प्लाज़्मा फेरेसिस प्रकृयाबाट उपचार जारी छ। उहाँका निजी चिकित्सक प्रा. डा. दिव्यासिंह शाह आज स्वदेश फर्कनु भएको छ’, रिमालले बुधबार ट्‍विटरमा लेखेका छन्, ‘उपचार प्रकृया अर्को सातासम्ममा पूरा हुनेछ। प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्था हाल सामान्य स्थितिमा छ।’

Bishnu Rimal@BishnuRimal

सम्माननीय प्रधानमन्त्रीज्यूको प्लाज़्मा फेरेसिस प्रकृयाबाट उपचार जारी छ।

उहॉको नीजि चिकित्सक प्रा. डा. दिव्यासिंह शाह आज स्वदेश फर्कनु भएको छ ।

उहॉको अनुसार यो उपचार प्रकृया अर्को साता सम्ममा पुरा हुनेछ।

सम्माननीय प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्था हाल सामान्य स्थितिमा छ।

53 people are talking about this
डा. सिंह  फर्किनुअघि नै प्रधानमन्त्रीका अर्का निजी चिकित्सक डा. दिलीप शर्मा सिंगापुर पुगिसकेका छन्।

ओली पछिल्लोपटक साउन १८ गतेदेखि २७ गतेसम्म सिंगापुरको नेसनल युनिभर्सिटी अस्पताल (एसएनयू) मा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्किएका थिए। फर्किएको डेढ सातामा समस्या बल्झिएपछि फेरि उनी त्यसतर्फ गएका हुन्।

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका ओलीले स्वास्थ्य परीक्षणलाई निकै महत्व दिँदै आएका छन्। दिल्लीस्थित अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षण काठमाडौं, दिल्ली, बैंकक र सिंगापुरमा हुँदै आएको छ।

के हो प्लाज्मा फेरेसिस ?

रगतमा रातो रक्तकोष (आरबीसी), सेतो रक्तकोष (डब्ल्यूबीसी), प्लेटलेस र प्लाज्मा हुन्छ। वरिष्ठ मिर्गौला रोग विशेषज्ञ राजेन्द्रकुमार अग्रवालका अनुसार रगतमा ६० प्रतिशत हिस्सा प्लाज्माको हुन्छ।

रगतमा रहेको पहेँलो तरल पदार्थ प्लाज्माले नै शरीरका अरु भागमा रगतलाई प्रबाह गराउँछ। रगतमा रहेको दुषित पदार्थ प्लाज्मामा जम्मा हुने भएकाले दुषित पदार्थ छुट्याएर त्यसलाई रिप्लेस गर्ने (फेर्ने) विधिलाई नै प्लाज्मा फेरेसिस भनिन्छ।

‘प्लाज्माबाट एन्टिबडी हटाएर प्लाज्माको ठाउँमा प्लाज्मा वा ह्युमन हल्बुमिन (human albumin) ले रिप्लेस गर्नुपर्ने हुन्छ’, डा. अग्रवालले भने, ‘कम्तिमा तीनदेखि चारपटक यो गर्नुपर्ने हुन्छ।’

प्रधानमन्त्री ओलीलाई गरिएको भनिएको प्लाज्मा फेरेसिस अन्तर्गत सुरुमा शरीरबाट रगत निकालेर यसमा रहेको प्लाज्मा छुट्याइन्छ। दुषित प्लाज्मा हटाएर स्वास्थ्य प्लाज्मा राखिन्छ र त्यसपछि उक्त रगत पुनः शरीरमा चढाइन्छ।

प्रकाशित मिति: बुधबार, भदौ ११, २०७६