समाचार हेडलाईन न्युज

प्रेस सेन्टरले यसरी सम्झियाे पत्रकार सहिद इच्छुकलाई

सुनकोसी न्युज
जेठ १३ गते आइतबार, २०८१
काठमाडौं । तत्कालीन राज्यपक्षबाट गिरफ्तार गरि प्रहरी हिरासतमा यातनाको कारण मृत्युु भएका पत्रकार एवम् साहित्यकार कृष्णसेन इच्छुकको २२औँ स्मृति दिवसका अवसरमा प्रभातफेरी गरिएको छ । प्रेस सेन्टर केन्द्रीय समितिको आयोजना तथा उपत्यका प्रदेश समिति, प्रतिष्ठान प्रदेश समिति र एसोसिएट प्रदेश समितिको संयुक्त समन्वयमा बबरमहलदेखि माइतीघरसम्म प्रभातफेरी गरिएको हो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख अग्नि प्रसाद सापकोटा, प्रधानमन्त्रीका प्रेस सल्लाहकार गाेबिन्द आचार्य, राताेपाटी डटकमका ओम शर्मा लगायतको सहभागिता रहेको थियो ।

मन्त्री शर्माले “कृष्ण सेन इच्छुकले देखाउनुभएको बाटाे र उहाँको जसरी निष्ठा र धरोहरका रूपमा व्यक्तित्व बन्यो, त्यो व्यक्तित्वबाट हामीले धेरै  सिक्न जरुरी छ, उहाँले देखाउनुभएको बाटोमा निरन्तर अगाडि बढ्न सकौँ”, उहाँले भन्नुभयो । वर्तमान राजनीतिक व्यवस्था प्राप्तिका निम्ति भएको जनयुद्ध सफल बनाउन इच्छुकको अतुलनीय योगदान रहेको उहाँले बताउनुभयो । हिरासतमा रहेका बेला इच्छुकलाई चरम यातनाबाट निधन भएको स्मरण गर्दै मन्त्री शर्माले देश सङ्घीय लोकतान्त्रिक गणतन्त्र बनेकामा गर्व गरिरहँदा कृष्ण सेन इच्छुकसहितका योद्धाहरूले गर्नुभएको योगदानको उच्च मूल्याङ्कन गर्नुपर्नेमा जोड दिनुभयो ।

“तर आजको दिनसम्म आइपुग्दा हामीले हाम्रो अवस्था परिवर्तन गर्न सकेका छौँ कि छैनौँ, कृष्ण सेनजस्ता महान् सहिदको सपना पूरा गर्न सकेका छौँ कि छैनौँ, हाम्रो अगाडि यो गम्भीर प्रश्न खडा भएको छ”, उहाँले भन्नुभयो ।

उपाध्यक्ष सापकोटाले शहिदले देखाएको बाटोमा अबिचलित लागिरहन सबै पत्रकारलाई आव्हान गर्नुभयो । संगठनको कार्यालय बबरमहलमा संगठनका अध्यक्ष विष्णु सापकोटा ‘जुगल’ को अध्यक्षतमा कोणसभा भएको थियो ।

प्रेस सेन्टर नेपालले माघ १५ गते संगठनको स्थापना दिवसका अवसरमा वितरण गर्ने गरी पुरस्कृत व्यक्तिको नाम पनि घोषणा गरेको छ । पुरस्कार पाउनेहरूमा जनादेश साप्ताहिकका पूर्वसम्पादक कोमल बराललाई कृष्ण सेन स्मृति पत्रकारिता पुरस्कार, शक्ति तारा स्मृति पत्रकारिता पुरस्कार धर्मेन्द्र कर्णलाई, बेपत्ता योद्धा स्मृति पत्रकारिता पुरस्कार मन्जीमा ढकाललाई दिने निर्णय गरिएको छनौट समितिका संयोजक युवनाथ लम्सालले बताएका छन् ।

प्रकाशित मिति: आइतवार, जेष्ठ १३, २०८१

 

 

ताजा अपडेट