स्थानीय

काम जसले बिगारे पनि दोष महानगरलाई आउँछ, त्यसैले महानगरको निर्देशन ठानेर जिम्मेवारी पूरा गर्नोस् : उपप्रमुख खड्गी श्रेष्ठ

काठमाडौं, २०७६ भाद्र ९ सोमबार। बिकास साझेदारका अधिकारीबीच सोमबार राष्ट्रिय सभा गृहमा बसेको बैठकले, सहरी व्यवस्थापन र सुबिधा वितरणका लागि साझेदारबीच समन्वय हुनुपर्छ भन्ने एजेण्डा बैठकमा मात्र सीमित भएको निष्कर्ष निकालेको छ । बैठकमा जे भनिएको छ । त्यसको कार्यान्वयनमा फेरि उस्तै समस्या दोहोरिन्छ । एकीकृत समन्वयात्मक बिकासका लागि प्रधानमन्त्री कार्यालयदेखि मन्त्रालय, महानगर र बिभागमा बैठक हुने गरेको छ । ती हरेक बैठकमा उपस्थित हुने अधिकांश अधिकारी एउटै हुन् । हरेक बैठकको एजेन्डा पनि एउटै हो । निर्णय पनि उस्तै हुन्छ । तर, जब कार्यान्वयको कुरा आउँछ, समस्या फेरि पनि उही ठाउँमा हुन्छ । अब यसरी राजधानी सहर व्यवस्थापन हुँदैन । महानगरको नेतृत्वमा बिकासका साझेदारले आफ्ना योजना कार्यान्वयनमा इमान्दार हुनुपर्छ । बिगत बैठकमा उठाइएका समस्या र समाधानका लागि गरिएका निर्णय कार्यान्वयन अवस्थाको समीक्षा गर्ने क्रममा अधिकारीको एउटै मत आएको थियो ।
बैठकमा महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले भन्नुभयो — अहिलेसम्म भएका कामबाट सन्तुष्ट हुने अवस्था छैन । सडकमा भन्नोस् वा सडक पेटीमा, ढलमा भन्नोस् या खानेपानीमा । समयमा काम सम्पन्न नगर्ने निकाय अर्कै छन् । तर गाली जनप्रतिनिधि र महानगरका कर्मचारीले खानुपर्छ । त्यसैले अब बिकासका साझेदार कार्यालयले, महानगरमा जनप्रतिनिधिले जनतासँग गरेका प्रतिज्ञा पूरा गराउन सहयोग गर्नुपर्छ । यसलाई महानगरको निर्देशन ठान्नोस् र आफ्ना जिम्मामा भएका काम इमान्दारिताका साथ पूरा गर्नोस् । उपप्रमुख खड्गी श्रेष्ठले — सडकमा भएका खाल्टाको प्रसङ्ग उल्लेख गर्दै भन्नुभयो — सडकमा परेका खाल्टाले यातायात आवतजावत गर्न त समस्या पारेका छ नै । त्यसबाहेक काठमाडांैंमा डेङ्गु रोग फैलाउने लामखुट्टे त्यसै खाल्टामा जमेको पानीमा छन् कि अब सोच्ने बेला आएको छ । त्यसैले ढिला नगरी सडकका खाल्टा तत्काल पुर्नु पर्छ ।
बैठकमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले — सुधारका केही राम्रा परिणाम देखिएको उल्लेख गर्दै, तुलनात्मक रुपमा यस बर्ष जमल, पुतलीसडकलगायतका क्षेत्रमा डुबान कम भएको बताउनुभयो । यो हाम्रो समन्वात्मक बैठकको प्रभाव हो । उहाँले थप्दै भन्नुभयो — तर, यसो भनेर चित्त बुझाउने अवस्था आएको छैन । कसैले काठमाडौंमा अन्तरराष्ट्रिय मापदण्डको सडक हेर्न चाहना ग¥यो भने कहाँ देखाउनु? देखाउने सडक चाहिँदैन? साझेदारसँग उहाँको प्रश्न थियो । त्यस क्रममा नेपाल बिद्युत प्राधिकरणका उपप्रबन्धक थिरकुमार खत्रीले, सडक निर्माण गर्ने क्रममा आफूलाई सूचना दिने भए त्यस क्षेत्रबाट वितरण हुने बिजुलीलाई भूमिगत बनाउने प्रबन्ध गर्ने बताउनुभयो । आफ्ना कामका बारेमा जानकारी दिने क्रममा डिभिजन सडक कार्यालयका प्रमुख कैलाशकुमार श्रेष्ठले — गौशालादेखि चावहिलतर्फको सडक कालोपत्रे हुने चरणमा रहेकोले त्यहाँ कुनै निकायको केही काम गर्न बाँकी भए गर्न आग्रह गर्नुभयो । त्यस्तै महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपि किरण बज्राचार्यले — सहरमा राखिएका सिसिटिभिको प्रभावकारिताका लागि रातको समयमा पर्याप्त प्रकाश आउने बत्ती राख्नुपर्नेमा जोड दिनुभयो ।
गएको साउन २९ गते महानगरका प्रमुखको अध्यक्षतामा बसेको बैठकले भदौ मसान्तभित्र सडकसँग सम्बन्धित मर्मत सम्भारका काम सक्ने गरी ७ दिनभित्र कार्ययोजना बनाउने निर्णय गरेको थियो । बैठकमा त्यस निर्णयबमोजिम काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना उपनिर्देशक मिलन शाक्यले — महानगरले कार्ययोजना उपप्रमुखलाई बुझाउनुभएको छ । त्यसमा असन, इन्द्रचोक, बसन्तपुर, चिँकमुगल, झोछेँ, ओमबहाललगायतका क्षेत्रमा भएका ५८ वटा सडक खण्डमा इन्द्रजात्राका औपचारिक कार्यक्रम शुरु हुनु अगावै काम सक्ने कुरा उल्लेख छ । त्यस्तै आउँदो दशै अगावै ११ वटा सडक खण्डमा बिस्तारको काम सम्पन्न गर्ने योजना राखिएको छ । सडक बिभागले जेब्रा क्रसमा चिन्ह लगाउने काम सम्पन्न गर्ने, केवल तथा इन्टरनेट सेवा प्रदायकलाई तार व्यवस्थापनमा जिम्मेवार बनाउने, पोल र सडकमा जथाभावी लत्रिएका तारलाई वातावरण व्यवस्थापन बिभागले तार काट्ने प्रबन्ध मिलाउने निर्णय भएको छ । वातावरणीय समस्या जटिल छन् । बिकासका साझेदारले सडकको काम समयमा नसकिदिँदा सडकलाई आकर्षक बनाउन नै सकिएन, वातावरण व्यवस्थापन बिभागका प्रमुख हरिकुमार श्रेष्ठको भनाइ थियो ।
बैठकमा आकाशे पुलको मर्मत सम्भार, बोटबिरुवाको छाँटकाँट, सडक किनारामा भएका सरकारी कार्यालय आकर्षक बनाउने कामलाई महानगरले अघि बढाएको सहरी शुशासन बिभागका प्रमुख हरिबहादुर कुँवरले जानकारी दिनुभयो ।
सहर व्यवस्थापनमा समस्यै समस्या छन् — हामी पहिचान गरेर समाधानमा लागिरहेका छौं, पूर्वाधार महाशाखा प्रमुख डा. उत्तरकुमार रेग्मीले — चोकमा महानगरले जडान थालेको हाइमास बत्तीले सहरी सुरक्षामा टेवा पु¥याउने बताउनुभयो । सहरमा लगाइएका बिरुवा बढेसँगै तिनले बिजुलीका तार छोलान् कि भनेर काट्ने गरिएको छ । बैठकमा सहरी समस्याको कुरा गर्दै, नगर प्रहरी महाशाखा प्रमुख नगर प्रहरी नायब उपरीक्षक धनपति सापकोटाले — सडक किनाराका बिरुवा काटेर सडकमा हाँगा छोड्ने क्रमले समस्या सृजना गरेको बताउनुभयो । न त बिरुवालाई आकर्षक बनाएर कटिङ् नै गरिन्छ । एउटा काम गर्दा अर्को भत्काउनु भएन । उहाँको जोड थियो । बैठकमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका नायव प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले — बिकासका सबै साझेदार समस्या परेको ठाउँमा एकै साथ गएर फिल्डमै समाधान खोज्न सकिने सुझाव दिनुभयो ।
बैठकमा नजिकिँदो दशै पर्वलक्षित शान्ति सुरक्षा व्यवस्थापनमा नगर र प्रहरीको साझेदारिताको बिषयलाई महत्वपूर्ण बिषयका रुपमा चर्चा गरिएको थियो । यसमा नागरिकलाई आफैं पनि सचेत र जिम्मेवार हुन आग्रह गर्ने निर्णय भएको छ ।– चन्द्रमणि भट्टराई

प्रकाशित मिति: मङ्लबार, भदौ १०, २०७६