शिक्षा/स्वास्थ्य समाचार स्थानीय हेडलाईन न्युज

ऊर्जामन्त्री भुसालद्वारा खोकनामा नागरिक स्वाथ्य सेवा केन्द्रको शुरुआत

सुनकोसी न्युज
ललितपुर २४ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिकाको वडा नं. २१ खोकनामा नागरिक स्वास्थ्य सेवा केन्द्र र जेष्ठ नागरिक मिलन केन्द्रको शुरुआत गर्नु भएको छ ।
वडा कार्यालयले सञ्चालन गर्ने ती सेवा केन्द्रबाट अबदेखि निरन्तर वडावासीले स्वास्थ्य परीक्षण एवं अन्य आधारभूत स्वाथ्य सेवा उपलब्ध पाउने छन् । खोकनामा आज (बिहीबार) आयोजित एक कार्यक्रममा मन्त्री भुसालले वडावासीको स्वास्थ्योपचार सुधारका लागि आवश्यक पर्ने व्यवस्था मिलाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले खोकनाबासीका लागि आवश्यक पर्ने विद्युत, सडक एवं सिँचाइका साथै अन्य आधारभूत आवश्यकताका लागि आफूले निरन्तर पहल गरिरहेको बताउँदै आगामी दिनमा जनताको आवश्यकता पूर्ति गर्नका लागि पर्ने बताउनु भयो ।
कोभिड सङ्क्रमणको महाविपत्तिको समयमा पनि वडाले जनस्वास्थ्यका विषयमा महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै उहाँले नागरिकको स्वास्थ्यमा ध्यान दिएकोमा वडाका जनप्रतिनिधिलाई धन्यवाद व्यक्त गर्नुभयो । मन्त्री भुसालले भन्नुभयो, ‘तोरीको तेलले चिनिने खोकनामा तोरी पेल्ने मिल, सम्पदाको संरक्षण एवं जनताको आवश्यकता पूरा गर्नका लागि वडा सक्षम भएको छ ।’
सो अवसरमा ऊर्जामन्त्री भुसालले रुद्रायणी पञ्चताल गुठीलाई अक्षयकोषका लागि रु. पाँच लाख बराबरको सहयोग पनि हस्तान्तरण गर्नुभयो । कार्यक्रममा वडा अध्यक्ष रविन्द्र महर्जनले वडावासीलाई निरन्तर सेवा उपलब्ध गराएको र आगामी दिनमा स्वास्थ्य, शिक्षालगायत आधारभूत आवश्यकता पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रकाशित मिति: बिहिबार, चैत्र २४, २०७८