अर्थ/विजनेस समाचार हेडलाईन न्युज

प्रधानमन्त्रीबाट सुनकोशी–मरिण डाइभर्सनको शिलान्यास सम्पन्न

सुनकोशी न्युज
२०७७ फाल्गुण २० गते विहिबार
कुसुमटार, सिन्धुली। प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोशी–मरिण डाइभर्सन बहुउदेश्यीय आयोजनाकाको शिलान्यास गरेका छन् ।

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको सुनकोशी–मरिन डाइभर्सनको बिहीबार कमलामाई नगरपालिका–२ कुसुमटारमा शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले दुई नम्बर प्रदेशलाई अब फलफुलको बंगैचामय बनाने बताए ।

यो योजना सुनकोशीको पानीलाई सुरुङ मार्फत् मरिण खोलामा झारेर तराईको फाँट सिँचाई गरिने महत्वकांक्षी योजना हो । सुनकोशी र तामाकोशीको दोभान बेनीभन्दा केही तल सुरुङ खनी ल्याइएको पानीलाई मरिणखोलामा खसालिने छ ।

प्रतिसेकेन्ड ६७ हजार लिटर पानीलाई १३.३ किलोमिटर लामो सुरुङ मार्फत कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिणखोलामा खसालिने छ । मरिण खोला बागमती नदीमा मिसिन्छ । मरिणखोलाको पानी २५ किलोमिटर तल गएर बागमति नदीमा मिसिन्छ । बागमतीमा बाँधिएको बाँधबाट तराईका पाँच जिल्लाका एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाई पुर्याउने यो योजनाको मूल लक्ष्य रहेको छ । सुरुङबाट लगिएको पानीबाट २८.६ मेगावाट विजुली पनि उत्पादन गर्ने लक्ष्य रहेको छ । त्यसै कारण यो आयोजना बहुउदेश्यीय आयोजनाको रुपमा रहेको छ । आयोजनाले बागमती सिँचाई योजनाको पुर्वी नहरबाट ७६ हजार ६ सय हेक्टर तथा पश्चिम नहरबाट ४५ हजार ४ सय हेक्टर जमिनमा सिँचाई पुग्ने जलश्रोत तथा सिँचाई विभागका महानिर्देशक मधुकर प्रसाद भण्डारीले जानकारी दिनुभयो । बागमती सिँचाई आयोजनाको सिन्चित क्षेत्र सहित बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लाको एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाई पुग्नेछ ।

तामाकोशी र सुनकोशीको दोभान बेनीभन्दा केही तल सुनकोशी नदीमा १५८ मिटर लामो व्यारेज निर्माण गरिने छ । १५० मिटर लामो डिसेन्डीङ बेसिन, टनेल ईन्ट्री पोर्टल, ५५ मिटर व्यास भएको १३.३ किलोमिटर लामो सुरुङ निर्माण हुने छ । आयोजनाबाट उत्पादन भएको विद्युत ४४ किलोमिटर लामो विद्युत प्रशारण लाईन मार्फत सर्लाहीको नवलपुरमा निर्माणाधिन सवस्टेशनमा जोडिने छ ।

रामेछाप तर्फको डुवान क्षेत्रको मुआब्जा, क्षतिपुर्तिको मुल्याङ्कनको कार्य, सुनकोशी र तामाकोशी नदीको संरक्षण र नदी बेसिनमा सम्भावित सिँचाईको अध्ययन, हेडवक्स र पावर हाउस र अन्य कार्यको विस्तृत ईन्जिनियरिङ अध्ययन कार्य सम्पन्न भई पुनरावलोकको काम भईरहेको जनाइएको छ ।

सुरुङ निर्माण कार्यको लागि चाइना ओभरसिज इन्जिनियरिङ कम्पनीसँग सम्झौता भइसकेको छ । टनेल बोरिङ मेसिन (टिबीएम) प्रविधिबाट यो सुरुङ निर्माण गरिने जनाइएको छ । आयोजना आर्थिक बर्ष २०७७÷०७८ मा सुरु गरी २०८२÷८३ मा सम्पन्न गर्ने लक्ष्य रहको जनाइएको छ ।

प्रकाशित मिति: बिहिबार, फाल्गुन २०, २०७७