खेल हेडलाईन न्युज

सन्दिपले दुई विकेट लिंदा होर्वाटले जित्यो महत्वपूर्ण खेल

सुनकोशी न्युज
२०७७ पौष १८ गते शनिबार
सीड्नी । अस्ट्रेलियन घरेलु क्रिकेट लिग बिग बास अन्तरगत शनिबार सम्पन्न खेलमा नेपाली लेग स्पीनर सन्दिप लामिछानेको टिम होर्वाट हुरिकेन्सले मेलवर्न स्टार्सलाई २१ रनले पराजित गर्दै अंक तालिकामा अग्रस्थानमा रहन सफल भएको छ।

लामिछानेको पहिलो उपस्थिति होर्वाटको लागि निकै उपलब्धीमुलक रहयो। उनले पुरानो क्लबविरुद्धको खेलमा कसिलो बलिङ गर्दै महत्वपूर्ण दुई विकेट हात पारे। कोरोनाको कारण अस्ट्रेलियन घरेलु क्रिकेट लिग बिग बासको प्रारम्भमा अस्ट्रेलिया आउन नपाएका नेपाली लेग स्पीनर सन्दिप लामिछाने क्वारेन्टाइनमुक्त भएपछि शनिबार घरेलु मैदानमा पहिलो खेल खेलेका हुन्।

प्रारम्भमा मेलवर्न स्टार्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गर्न आएको होर्वट हुरिकेन्सले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउँदै १६४ रन जोडेको थियो। होर्वटको जितमा बेन म्याकड्रेमट र डविड मलानको उत्कृष्ट ब्याटिङ सरानिय रहयो। बेनले ३१ रन जोडे भने मलानले ५६ बल खेलेर शानदार ७५ रन जोडेका थिए। प्रतिउत्तरमा दोस्रो ब्याटिङ गर्न उत्रेको मेलवर्न स्टार्स भने २० ओभरमा ९ विकेट गुमाउँदै १४३ रनमा सिमित हुन पुगेको थियो। मेलवर्न स्टार्सका लागि कप्तान ग्लेन म्याक्सवेलले ३७ बलमा ७० रन जोडे पनि टिमलाई जिताउन सकेनन्। उनले ५ छक्का र ६ चौका प्रहार गर्दै टिमलाई महत्वपूर्ण योगदान दिएका थिए।

लामो समयपछि मैदानमा उत्रेका नेपाली लेग स्पीनर सन्दिप लामिछाने केही महंगो साबित भए पनि महत्वपूर्ण दुई विकेट हात पारे। सन्दिप लामिछानेले भने चार ओभर बलिङ गर्दै ३८ रन खर्चेर पुरानो टिमविरुद्ध दुई विकेट लिएका थिए। अर्का बलर स्कट बोलान्डले महत्वपूर्ण तीन विकेट लिएर होर्वाटको जित सहज बनाएका थिए। सन्दिपको टोली होर्वाट हुरिकेन्सले आगामी जनवरी ४ मा पुन ब्रिजबेनमा मेलवर्न स्टार्ससँग खेल्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: शनिबार, पुस १८, २०७७