समाचार हेडलाईन न्युज

प्रतिवेदनहरु फिर्ता भएको हल्ला निराधार : प्रचण्ड सचिवालय

सुनकोशी न्युज
२०७७ पौष १ गते बुधबार
काठमाण्डौं । आज बसेको स्थायी समितिको बैठकले यसअघि दुई अध्यक्षले पेस गरेका दुई फरक दस्तावेज फिर्ता लिने निर्णय भएको भनेर चलाइएको हल्ला सत्य नभएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

सचिवालय र स्थायी समितिको बैठकमा आफू रक्षात्मक अवस्थामा पुगेको र अध्यक्ष प्रचण्डको विचार समूहले प्रम ओलीका गलत प्रवृत्तिको उजागर सहित बेठकमा पेस भएको प्रस्ताव फिर्ता नलिने अडान लिएपछि ओली गुटमा पहिरो गएको थियो । कुनै पनि अवस्थामा पार्टीले आफूप्रतिकुल निर्णय लिने अवस्था देखेपछि ओलीले पार्टीलाई धम्क्याउन ल्याएको असंवैधानिक अध्यादेश पनि अन्ततः तुहिन पुगेको छ ।

यसो त प्रचण्ड विचार समुहको दस्तावेज फिर्ता गराउने नियतले दबाब स्वरुप उक्त अध्यादेश ल्याइएको प्रस्ट देखिन्छ । ओली निकट आँखा चिम्लिएर गालिगलौजमा उत्रिने समूहले दुबै अध्यक्षका प्रतिवेदन फिर्ता हुने भनेर हल्ला चलाउनु र ओलीभक्त मिडियाले उक्त समाचारलाई भँगेराटाउके अक्षरमा हतारहतार प्रकासित गर्नुले प्रमाणित गर्दछ ।

उक्त प्रायोजित समाचारले बजारहल्ला चलाएपछि प्रचण्ड सचिवालयले उक्त समाचार अफवाह भएको स्पष्ट पारेको छ । अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सुापकोटा जुगलले सामाजिक संजालमा आज स्थायी समितिको बैठकले गरेको निर्णयहरु पोष्ट गर्दै ओलीले ल्याएको अध्यादेश फिर्ता गर्ने र दुबै अध्यक्षका प्रस्ताव स्थायी कमिटि र केन्द्रीय समितिमा छलफल गरिने जानकारी दिएका छन् । उनले लेखेका छन् :

आज २०७७ पुष १ गते बालुवाटारमा बसेको पार्टी स्थायी समितिको बैठकले  निम्न निर्णयहरु गरेको छ ।
१. सरकारले जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने साथै राष्ट्रपति समक्ष संसदको अधिवेशनको माग गर्दै पेश गरिएको आवेदन पनि फिर्ता गर्ने सर्वसम्मत निर्णय भएको छ ।
२. संवैधानिक नियुक्तहरु सहमतिमा मात्र टुङ्ग्याउने निर्णय भएको छ ।
३. पार्टी स्थायी समितिको बैठक यही पुष ५ गते र पार्टी केन्द्रीय समितिको बैठक पुष १० गते बस्ने निर्णय भएको छ ।
४. बैठकमा पेश भएका प्रस्तावहरु पार्टीको स्थायी समिति र केन्द्रीय समितिका बैठकहरुमा छलफल गर्ने ।
राजनीतिक प्रस्ताव फिर्ताको हल्ला निराधार र कपोलकल्पित भएको जानकारी गराउँदछु ।

 

प्रकाशित मिति: बुधबार, पुस १, २०७७