जीवनशैली स्थानीय हेडलाईन न्युज

रामेछापका १०२ वर्षिय पदमबहादुर अझै काममा व्यस्त रहन्छन्

सुनकोशी न्युज
२०७७ मंसिर २९ गते सोमबार
रामेछाप । रामेछाप सुापाती गाउँपालिका वडा नं. ४ निवासी पदम बहादुर सार्की उमेरले १०२ वर्ष पुगे । तर उनको शरीर बुर्ढो भए पनि अझै काम गरिरहेका छन् । श्रम नगरी बस्नै नसक्ने उनको बानी रहेछ । उनी चुपलागेर सुतेर मात्रै बस्नै सक्दैनन् रे । सुनकोशी न्युजका प्रतिनिधि उनको घरमा पुग्दा उनी जुटका बोराको धागो निकालेर त्यसलाई बाटेर डोरी बनाइरहेका थिए । काम नगरी खाएको नपच्ने उनले बताए ।

राणाकालमा उनका बाबुबाजे सेनाले चढ्ने घोडाको लागि काठी बनाउने काम गर्दथे । उनीहरु सेनाका जवानका लागि छालाका जुत्ता पनि तयार पार्ने गर्दथे । समय अन्तरालमा त्यो पेसा अहिले हराएको छ । गाउँघरमा सार्कीले छालाबाट तयार पारेको जुत्ताको बजार फ्याक्ट्रीबाट बनेका फेन्सी जुत्ताले बिस्थापित बनाएको छ ।

सार्कीहरु आफ्नो परम्परागत जुत्ता सिउने पेसा त्यागेर बैकल्पिक पेसा रोज्न बाध्य भएका छन् । समयान्तरमा पदम बहादुरले पनि घोडाको काठी र छालाका जुत्ता बनाउन छाडिसकेका छन् । उनी खेतबारी का काम गर्दछन् । फुर्सतमा डोरी बनाउने, हलो बनाउने, कोदालाका बिंडहरु बनाउने लगायत काम गर्दछन् ।

नेपालीको औसत आयु ६७ वर्ष रहेको छ । तर कतिपय त्यो भन्दा बढी उमेरसम्म पनि बाँच्छन् । तर १०२ वर्षको उमेरमा पनि सक्रिय जीवन बाँचिरहेका पदम बहादुरलाई देख्दा लोभ लाग्छ । के हामी अहिलेका युवा त्यो उमेरसम्म बाँचौंला ? अझ, सक्रिय जिवन बाँच सकौंला ? उनलाई देख्दा लोभ लागेर आउछ ।

कसैको रिस राग नगरी सादा जीवन परिश्रम गरेर सिधासोझो जिवन जिउने, खानपिनमा ध्यान दिने र हानिकारक पदार्थ सेवन नगर्ने भएकै कारण सार्की आज यो उमेरमा पनि काम गर्न सक्छन् । आँखा देख्न सक्छन् । उनको काम प्रतिको लगावले उनलाई थप जीवन प्रदान गरेको छ ।

निरन्तर श्रम गरिरहने मानिस लामो समय बाँच्ने र स्वस्थ्य रहने उनको यो अवस्थाले स्पष्ट पारेको छ । नेपालमा ‘उहिलेका सुका माना घिउखाएका मान्छे, बलिया हुन्छन् ।’ भन्ने त उखानै छ । पहिलाका मान्छे धेरै शारीरिक श्रम गर्ने भएका कारण घिउ, दुध, दही धेरै खाने र त्यसलाई सजिलै पचाउन सक्थे । त्यसैले उनीहरु बलिया पनि हुन्थे । त्यसै कारण उनीहरु दीर्घजिवि पनि हुन्छन् । तर अहिलेका पुस्तामा त्यो पाचन शक्ति, त्यो काम गर्ने क्षेमता, जाँगर र इच्छाशक्ति देखिदैन ।

प्रकाशित मिति: सोमवार, मंसिर २९, २०७७