समाचार

अध्यक्षाद्वोयको संवादपछि नेकपा सचिवालय बैठक सुरु

सुनकोशी न्युज
२०७७ मंसिर २० गते शनिबार
काठमाडौं । लामो समयको अन्तरालपछि अध्यक्षाद्वोय पुष्पकमल दाहाल र केपी ओलीबीच सम्वाद भएको छ । अध्यक्षाद्वोयको २५ मिनेट लामो वार्तालापपछि बालुवाटारमा पार्टी सचिवालयको बैठक सुरु भएको छ ।

बैठकमा सहभागी हुन आनाकानी गरिरहेका पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी छन् । यसअघि गत मंगलबारको बैठकमा ओली अनुपस्थित भएका कारण सचिवालय बैठक आजसम्मका लागि स्थगित गरिएको थियो ।

आजको बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डले पेश गरेका अलग–अलग डकुमेन्टमाथि छलफल गर्ने तयारी छ । गएको कात्तिक २८ मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एकल प्रस्ताव पेस गरेका थिए । त्यसपछि दश दिनका लागि स्थगित भएर बसेको बैठकमा ओलीले जवाफ पेस गरेका थिए ।

गत मंगलबार बसेको बैठकमा ओली अनुपस्थित भएपछि कार्यकारी अध्यक्ष प्रचण्डले बैठक तीन दिनसम्म स्थगित गरेका थिए ।

यसबीचमा नेताहरुबीच सहमतिको प्रयास जारी छ । ओलीले प्रचण्डसँग प्रत्यक्ष छलफल नगरे पनि ओली निकट नेताहरुले प्रचण्डलाई भेटेर छलफल गर्दै आएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीलेसमेत प्रचण्ड र ओलीसँग अलग–अलग छलफल गरेर सहमतिको प्रयास गरेकी थिइन् । कतिपयले राष्ट्रपतिको यो सक्रियताको आलोचना गर्ने गरेका छन् ।

प्रकाशित मिति: शनिबार, मंसिर २०, २०७७