समाचार हेडलाईन न्युज

आज जनमुक्ति सेना दिवस

सुनकोशी न्युज
२०७७ मंसिर ८ गते सोमबार
काठमाण्डौं । आज जनमुक्ति सेना दिवस । आजकै दिन दश वर्षे जनयुद्धका बेला तत्कालिन नेकपा माओवादीले स्थापना गरेको छापामार सैन्य फर्मेशनलाई जनमुक्ति सेनाका रुपमा स्थापना गरेको थियो ।

नेकपा माओवादीले २०५२ साल फागुन १ गतेबाट जनयुद्ध सुरु गरेपनि जनमुक्ति सेना भने २०५८ साल मंसिर ८ गते स्थापना भएको मानिन्छ । २०५७ सालमा भारतको पंजावमा सम्पन्न नेकपा माओवादीको दोश्रो राष्ट्रिय सम्मेलनले जनमुक्ति सेना स्थापना गर्ने निर्णय गरेको थियो ।

तत्कालिन निरंकुश राजा ज्ञानेन्द्र शाहले सत्ताको बागडोर सम्हालेका बेला माओवादी र सरकारबीच जारी पहिलो चरणको बार्ता असफल भएपछि माओवादीले २०५८ मंसिर ८ गते दाङ, सेलुखुम्बु र स्याङजा जिल्लामा एक्कै पटक आक्रमण गरेको थियो । त्यसअघि नेपाल प्रहरी तथा ससस्त्र प्रहरीविरुद्ध मात्रै फौजी आक्रमण गरिरहेको माओवादीले बार्ता असफल भएपछि पहिलो पटक नेपाली सेना विरुद्ध समेत आक्रमण गरेर सफलता पाएकै दिनलाई जनसेना स्थापनाको दिन मान्ने गरेको छ ।

पहिलो पटक तत्कालिन सरकारी प्रतिनिधि र माओवादी बार्ता टोलीबीच माओवादीले अघि सारेको सर्वपक्षीय सरकार, गोलमेच सम्मेलन र संविधानसभाको माग सुनुवाई भएन । १४ भदौमा गोदावरीमा शुरु भएको वार्ता २८ र २९ गते बर्दियाको ठाकूरद्वारा हुँदै २८ कार्तिकमा गोदावरीमा गई टुंगियो । ८ मंसीरमा सेनाको दाङ ब्यारेकमा हमला गरी माओवादीले निकै ठूलो संख्यामा हतियार कव्जा गरि आफ्नो सैन्य शक्ति सबल बनाएको थियो ।

सो आक्रमणपछि ११ मंसीरमा सरकारले देशभरि संकटकाल लगायो । सरकारले माओवादीलाई आतंककारी घोषणा गरेको थियो।

जनयुद्ध सुरुगर्दा २०५२ फागुन १ गते माओवादीले सिन्धुलीगढीको प्रहरी चौकी कब्जा, रोल्पाको होलेरी प्रहरी चौकी कब्जा, रुकुमको राडीज्यूला, गोर्खा च्यागंलीमा रहेको कृषि विकास बैंकमा एकै रात आक्रमण गरेको थियो ।

शान्ति सम्झौता मार्फत युद्ध अन्त्य गरेर नेपालमा सेना समायोजनको प्रकृया सुरु हुंदा तत्कालिन सनमुक्ति सेना देशभर ७ ओटा व्यारेक बनाएर बसेको थियो । जनमुक्ति सेनाको सर्बोच्च कमाण्डर प्रचण्ड थिए, वर्षमान पुन अनन्त, नन्दकिशोर पुन पासाङ, जनार्दन शर्मा, प्रभाकर र चक्रपाणी खनाल, बलदेव डेपुटी कमाण्डर कमाण्डर थिए, ७ डिभिजन कमाण्डरमा पहिलो डिभिजनमा सन्तु दराई परवाना, २ नम्बरमा धनबहादुर मास्की राजेश, तेश्रो कालीबहादुर खाम विविध, चौथोमा यमबहादुर अधिकारी प्रतिक्षा, पाँचौमा सुकबहादुर रोका शरद, छैटौंमा महेन्द्र बहादुर शाही प्रज्वल र सातौं डिभिजनमा जिवन बुढा रहेका थिए । शान्ति सम्झौतामा उल्लेखित सेना समायोजनको निर्णय अनुसार जनमुक्ति सेना नेपाली सेनामा समायोजन र स्वेच्छिक अवकासमा गएपछि जनमुक्ति सेनाको फर्मेशन अन्त्य भएको हो ।

जनमुक्ति सेना गठन हुनुपुर्व माओवादीले छापामार युद्ध मार्फत प्रहरीमाथि आक्रमण केन्द्रित गर्ने गरेको थियो ।

प्रकाशित मिति: सोमवार, मंसिर ८, २०७७