जीवनशैली प्रदेश २ समाचार हेडलाईन न्युज

बीरगञ्ज महानगरका मेयर सरावगीका पिताको ग्राण्डी अस्पतालमा निधन

सुनकोशी न्युज
२०७७ भाद्र १५ गते सोमबार

काठमाण्डौं । बीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीका पिता चिरञ्जीवीलाल सरावगीको निधन भएको छ । ७८ वर्षका सरावगीको आज विहान १२ बजेर ५ मिनेट जाँदा ग्राण्डी अस्पतालमा निधन भएको हो ।

आफ्नो फेसबुक पेजमा एक सन्देश लेख्दै मेयर सरावगीले आफ्ना पिता व्रम्हलिन भएको जानकारी दिएका हुन् ।

लामो समयदेखि मृगौला र मुटुको रोगी रहेका चिरञ्जीवीलालको गत साउन २४ गतेदेखि काठमाण्डौंको ग्राण्डी अस्पतालमा उपचार भैरहेको थियो । उनको आइसियुमा उपचार भैरहेको थियो ।

केहीसमयपहिलादेखि मेयर सरावगी कोरोना संक्रमितहरुको व्यावस्थापन गर्ने क्रममा आफैं संक्रमित भई आइसोलेशनमा रहेका छन् । मृतक चिरन्जीवी पनि बिरगंजमा रहँदा कोरोना संक्रमित भएका थिए । तर पछि उनको तीनपटकसम्मको पिसिआर परिक्षणमा परिणाम नेगेटिभ आएको परिवार स्रोतले जानकारी दियो ।

उनी दीर्घरोगी भएका कारण मुटु र मृगौलाको सघन उपचारको लागि काठमाण्डौंस्थित ग्राण्डी अस्पतालमा गत साउन २४ गते ल्याइएको थियो ।

बिरगंजका पुराना बासिन्दा सरावगीको बिरगंज शहर विकासमा विशेष योगदान रहेको स्थानीयबासीको भनाई रहेको छ ।

व्यापार व्यवसायसँगै उनले वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्ष, मारवाडी परिषदको केन्द्रीय अध्यक्ष, लायन्स क्लबको गभर्नर लगायत दर्जनौं सामाजिक संघ संस्थाको जिम्मेवारी सम्हालेका थिए ।

उनका नगर प्रमुख विजय कुमार सरावगीसहित दुई छोरा र एक छोरी छन् ।

प्रकाशित मिति: सोमवार, भदौ १५, २०७७