समाचार हेडलाईन न्युज

अध्यक्षद्वय प्रचण्ड र ओलीबीच बालुवाटारमा छलफल सुरु

सुनकोशी न्युज
२०७७ भाद्र ९ गते मंगलबार
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वोय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सुरु भएको छ ।

शनिबार कार्यदलले बुझाएको प्रतिवेदन अध्ययनपछि त्यसको व्यवहारिक कार्यन्वयनबारे दुई अध्यक्षबीच छलफल सुरु भइरहेको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए । छलफलका लागि अध्यक्ष प्रचण्ड पौने १० बजे बालुवाटार पुगेका थिए ।

नेकपाको आन्तरिक विवाद समाधान गर्न गत साउन ३० गते महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलले भदौ ६ गते समाधानको सुत्रसहतिको १७ पेज लामो प्रतिवेदन बुझाएको थियो । जसमा ओलीले सरकार सञ्चालनमा केन्द्रित हुने र प्रचण्डले पार्टी सञ्चालनमा केन्द्रीत हुने सुझाव दिइएको छ । ओलीले सरकारमा महत्वपूर्ण निर्णय लिँदा र अध्यादेश ल्याउँदा अनिवार्य रुपमा अध्यक्ष प्रचण्ड र सचिवालयको सुझाव लिनुपर्ने पनि प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै सरकारलाई थप प्रभावकारी बनाउन केन्द्र तथा प्रदेशका मन्त्रीहरु हेरफेर गर्न समेत प्रतिवेदनले सुझाव दिएको छ । एकता महाधिवेसन, पार्टी एकतालाई पूर्णता तथा पार्टी विधि विधान अनुसार पार्टी चलाउनुपर्ने पनि प्रतिवेदनमा उल्लेख छ ।

दुवै अध्यक्षले आइतबार र सोमबार उक्त प्रतिवेदन अध्ययन गरेका थिए । दुई अध्यक्षको छलफलपछि उक्त प्रतिवेदन सचिवालय हुँदै स्थायी समितिबाट पारित गरेर कार्यान्वयनमा लैजान सुझाव गरिएको छ ।

ओली र प्रचण्डको आजको छलफलपछि सचिवालय बैठक बोलाउने र छलफलपछि अनुमोदन गर्ने नेकपाको तयारी छ ।

प्रकाशित मिति: मङ्लबार, भदौ ९, २०७७