समाचार हेडलाईन न्युज

पूर्वमन्त्री सुनिलबहादुर थापासहित ३१ जना नेताहरुले राप्रपाबाट दिए राजीनामा

सुनकोशी न्युज
२०७७ साउन १० गते शनिबार

काठमाडौं – राप्रपा नेता तथा पूर्वमन्त्री सुनिलबहादुर थापासहित ३१ जना नेताहरुले पार्टीका सबै तहका पद र जिम्मेवारीबाट राजीनामा दिएका छन् ।

राजीनामा पत्रमा भनिएको, ‘संविधान निर्माणमा निशर्त भूमिका निर्वाह गरेको, संविधानलाई उत्कृष्ट भनी सत्तामा सहभागी भएको अनि आफ्नै ढुलमुले नीतिका कारण जनमत गुमाएपछि संविधानप्रति असहमति जनाउने कार्य अहिले पनि भइरहेको छ । स्वार्थ र परिस्थिति अनुकूल विचार सिद्धान्त र दृष्टिकोण परिवर्तन हँदा राप्रपाप्रति आमरुपमा विश्वास समाप्त भएको मात्र छैन, संस्थापकहरुको सपनामा पनि आघात पुगेको छ ।

“पार्टी, संस्थापकहरुले देखाएको सपना, परिवर्तनप्रति पार्टीको प्रतिवद्धता र आम जनमत विपरीत पार्टी गएकोमा हामीले विगतमा निरन्तर खबरदारी गर्दै आएको पार्टी पंक्ति जानकार नै छ,” राजीनामा पत्रमा उल्लेख गर्दै भनेका छन्, ´´हामीले यस सन्दर्भमा आफ्ना धारणा निरन्तर राख्दै आयौँ र नेतृत्व जनमतको प्रतिकूल दिशामा सहभागी भइरहेपछि हामी जनमतको अपमान हुने कार्यमा साथ दिन नसक्ने निष्कर्षमा पुगेका छौँ ।

प्रकाशित मिति: शनिबार, साउन १०, २०७७