समाचार हेडलाईन न्युज

संसद सचिवालयका महासचिव गौतमले लिए सपथ

सुनकोशी न्युज, २०७७ वैशाख २३ गते

संसद सचिवालयका महासचिवमा भरतराज गौतम पद तथा गोपनियताको सपथ लिएका छन् । मंगलबार दिउँसो सभामुख अग्निप्रसाद सापकोटाले गौतमलाई सपथ खुवाएका हुन्।

गौतमको सपथ कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासहित विभिन्न  पार्टीका संसदीय दलका नेता, सचेतक र समिति सभापतिहरू उपस्थिति थिए। यसअघि सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाको सिफारिसमा गौतमलाई महासचिवमा नियुक्त गरेकी थिइन्।

गौतम यसअघि संसद सचिवालयका सचिव थिए। गौतमले प्रशासनिक सुधार र कार्यसम्पादन व्यवस्थापनमा त्रिभुवन विश्वविद्यालयबाट पिएचडी गरेका छन्। उनी २०५१ सालमा संसद सेवा प्रवेश गरेका थिए। यसअघि सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीलाई कार्यवाहक महासचिव तोकेपछि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले आपत्ति जनाएका थिए। संघीय संसदमा महासचिव नियुक्तिमा विषयमा पूर्वएमाले र पूर्वमाओवादी छुट्टिएका थिए।

तिमिल्सिनाले सभामुख सापकोटाले आफूसँग परामर्श नगरी कार्यवाहकको जिम्मेवारी दिइएकोमा आपत्ति प्रकट गरेका थिए। पूर्वमाओवादीले पक्षले योगीलाई केही समय कार्यवाहकको जिम्मेवारी दिने र केही समयपछि महासचिव नियुक्ति गर्ने तयारी गरेको थियो। सभामुख सापकोटा योगीलाई नियुक्तिको अडानमा पछि हटेपछि गौतम महासचिव सिफारिस भएका थिए।

संघीय संसदको महासचिव र सचिवको नियुक्ति तथा योग्यतासम्बन्धी कानुनमा महासचिव बन्न ४५ वर्ष पुगेको हुनुपर्ने प्रावधान छ। योगी उमेरले ४५ पुग्न अझै १ वर्ष बाँकी छ। उनको उमेर नपुग्दासम्म कार्यवाहक बनाउने तयारी सभामुख सापकोटाले गरेका थिए। तर राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले महासचिवका लागि उमेर नपुगेको अवस्था उनलाई कार्यवाहक तोक्न नहुने धारणा राखेका थिए। तिमिल्सिना संसद सचिवालयका सचिव गौतमको पक्षमा लचक देखिएका थिए।

संघीय संसदको महासचिवको दौडमा राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा। भेषराज अधिकारी समेत थिए। त्यस्तै अधिवक्ता टिकाराम भट्टराई र प्रधानमन्त्रीका कानुनी सल्लाहकार बाबुराम दाहालको समेत महासचिवका लागि चर्चा भएको थियो। संघीय संसद सचिवालयका दुई सचिव भरतराज गौतम र ध्रुव घिमिरे पनि महासचिवका लागि प्रतिस्पर्धामा थिए। पूर्वएमालेका तर्फबाट राष्ट्रिय सभामा सचिव नियुक्त भएका राजेन्द्र फुयाँल भने उमेर हदका कारण दौडमा थिएनन्।

नेकपाको विवादका कारण कार्यवाहकबाट चल्दै आएको संसद सचिवालयले बजेट अधिवेशनको ठीक अघि महासचिव पाउन लागेको हो। महासचिवमा नियुक्त भएका गौतम संसद सचिवालयमै २५ वर्ष काम गरेका व्यक्ति हुन्।

प्रकाशित मिति: मङ्लबार, बैशाख २३, २०७७