समाचार हेडलाईन न्युज

बामदेवमय सचिवालय बैठक सम्पन्न, उपयुक्त समयमा प्रतिनिधि सभामा लगिने आश्वसन

सुनकोशी न्युज, २०७७ वैशाख २० गते
काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आजको वैठक बामदेवमय भएको छ । दुबै अध्यक्षले आफूले गरेको गल्तीमा आत्मालोचना समेत गरेका छन् । कुनै एक निर्वाचन क्षेत्र खाली गराएर वामदेव गौतमलाई उम्मेदवार बनाउने निर्णयसँगै वैठकले अर्को मोड लिएको छ ।

ओली पक्षले सबै शक्ति लगाएर गौतमलाई फकाउन सफल भएपछि सचिवालयको बैठकले अर्को मोड लिएको हो । वैठकले उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधि सभामा लैजाने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार साँझ बसेको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभा उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए ।

‘सचिवालयले पार्टीका उपाध्यक्ष कमरेड वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभा उम्मेदवार बनाउने र त्यसका लागि पहल गर्ने निर्णय गरेको छ,’ बैठकपछि प्रवक्ता श्रेष्ठले भने । प्रतिनिधि सभामा आएपछि प्रधानमन्त्री बन्ने ध्येय पनि स्वभाविक रूपमा यसमा रहेको प्रवक्ता श्रेष्ठले प्रस्ट पारे । साथै बैठकले यही वैशाख २५ गते काठमाडौंमा नै बस्नेगरी स्थायी कमिटी बैठक समेत बोलाएको छ ।

स्थायी कमिटी बैठकका एजेण्डा तय गर्न त्यसको एकदिन अघि अर्थात वैशाख २४ गते सचिवालय बैठक समेत बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।सचिवालयको अघिल्लो बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए ।

संघीय संसद्को सदस्य नरहेको अवस्थामा कसरी प्रधानमन्त्री बनाउने भन्ने सवाल चौतर्फी रूपमा उठेको थियो । राष्ट्रिय सभामा लैजाने हो भने प्रधानमन्त्री बन्न संविधान संशोधन गर्नुपर्ने हुन्छ, प्रतिनिधि सभामा लैजानका लागि उपनिर्वाचन आवश्यक पर्छ ।

अब उपनिर्वाचन हुने संकेत नेकपाको निर्णयले गरेको छ, त्यसका लागि पार्टीका कुनै एक सांसदले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति: शनिबार, बैशाख २०, २०७७