मुख्य समाचार हेडलाईन न्युज

के नेकपा फुट्दैछ ? प्रम ओलीले ल्याए हतारमा पार्टी विभाजन सम्वन्धी सजिलोे अध्यादेश, साँडे पाँचबजे सचिवालयको बैठक आव्हान

शुनकोशी न्युज, २०७७ वैशाख ८ गते,
काठमाण्डौं । प्रम ओलीले पार्टी फुटाउन सजिलो हुनेगरी अध्यादेश मन्त्रीपरिषदबाट पास गरी राष्ट्रपतिसमक्ष पेश गरेका छन् । ओलीले पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा ४० प्रतिशत संख्या भए पुग्ने व्यवस्था गर्न अध्यादेश ल्याउने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले बताए ।
सोही विषयमा छलफल गर्न अहिले साँढेपाँच बजे बालुवाटार प्रधानमन्त्री निवासमा पार्टीको सचिवालय बैठक आव्हान गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो ।
यसअघि पार्टी विभाजन गर्न संसदीय दल र केन्द्रीय समिति दुवैमा ४० प्रतिशत आवश्यक पर्ने व्यवस्था थियो। पार्टीका दुई अध्यक्षबीच चिसो बढिरहेका बेला प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्‍मा यस्तो प्रस्ताव लगेका हुन् । उनको प्रस्तावमा केही मन्त्रीहरुले लकडाउनको अहिलेको परिस्थितिमा यस्तो निर्णय गर्नु पर्‍यो भनेर असन्तुष्टि समेत व्यक्त गरेको ती मन्त्रीले सुनाए । प्रधानमन्त्री ओलीले यसको अहिले आवश्यकता रहेको बताएपछि निर्णय भएर आजै राष्ट्रपति कार्यालयमा पुगिसकेको पनि उनले बताए । अध्यादेशले राजनीतिक दलसम्बन्धि ऐनको प्रावधानलाई संशोधन गर्नेछ ।
पार्टीभित्र प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतम प्रम ओलीको कार्यशैलीको विपक्षमा रहेका छन् । उनीमाथि पार्टीसँग कुनै सल्लाह नगरी तानाशाही ढंगले जथाभावी निर्णय गरेर मुलुक र पार्टीलाई दलदलमा फसाएको आरोप लाग्ने गरेको छ । भ्रष्टाचारीहरुलाई संरक्षण गरेको पनि उनलाई आरोप लाग्ने गरेको छ । आफ्नै गलत कार्यशैलीका कारण चौतर्फि घेराबन्दीमा परेपछि आफ्नो गुटको संरक्षण गर्न हतारमा पार्टी विभाजनसम्वन्धि सजिलो अध्यादेश ल्याएका हुन् । अन्यथा विश्व मानवजगत कोरोनाको करहसँग जुधिरहेका बेला हतारमा यसरी अध्यादेश किन ल्याउनुप¥यो भन्दै नेकपाका एक केन्द्रीय सदस्यले आक्रोश व्यक्त गरेका छन् ।

प्रकाशित मिति: सोमवार, बैशाख ८, २०७७