मुख्य समाचार

मंसिर १५ अघि उपनिर्वाचन गराउन सरकारलाई आयोगको सिफारिस

 

काठमाडौं, साउन १६

निर्वाचन आयोगले मंसिर १५ अघि तीनै तहमा उपनिर्वाचन गर्नका लागि सरकारलाई सिफारिस गरेको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मंसिर १५ अघि उपनिर्वाचन गर्न सिफारिस गरिएको जानकारी दिए।

यसअघि प्रधानमन्त्रीसँग भएको छलफलका क्रममा उपनिर्वाचनका लागि उपयुक्त मिति सिफारिस गर्न भनेकाले मंसिर १५ अघि उपयुक्त ठानिएको उनले बताए। यद्यपी राजनीतिक दलहरुसँगको सहमतिमा मन्त्रिपरिषदले उपनिर्वाचनको मिति तय गर्नेछ।

निर्वाचन आयोगको विवरण अनुसार अहिले ५० ठाउँमा उपनिर्वाचन गराउनु पर्नेछ।

 

प्रतिनिधिसभा सदस्यका लागि कास्की ३ मा उपचुनाव गराउनुपर्नेछ। कास्की ३ बाट चुनाव जितेका नेकपाका सांसद रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि सो ठाउँ खाली भएको छ।

त्यस्तै बाग्लुङ २ ख बाट गण्डकी प्रदेश सांसद भएका टेकबहादुर घर्ती, प्रदेश ५ को दाङ ३ ख बाट निर्वचित उत्तरकुमार ओली र प्रदेश ३ को भक्तपुर १ ख बाट निर्वाचित हरिशरण लामिछानेको निधन भएपछि प्रदेशसभाका तीन स्थान खाली भएका छन्।

त्यसैगरी, सुनसरीको धरान उपमहानगरपालिकामा प्रमुख तारा सुब्बाको निधन भएपछि सो नगरपालिका प्रमुखविहीन छ भने तीन वटा गाउँपालिका अध्यक्षको पदपूर्ति पनि उपचुनावबाटै हुनुपर्नेछ। एक ठाउँमा उपाध्यक्ष र ३६ जिल्लाका ४१ वटा वडा अध्यक्षका लागि उपनिर्वाचन गर्नुपर्ने आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले बताए।

प्रकाशित मिति: बिहिबार, साउन १६, २०७६