हेडलाईन न्युज

स्वास्थ्यकर्मीको तलब कट्टी हुँदैन – स्वास्थ्य मन्त्रालय

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले चिकित्सा तथा स्वास्थ्यकर्मीहरूको तलब कट्टी गरेर कोरोना नियन्त्रण तथा रोकथाम कोषमा नराखिएको प्रष्ट पारेका छन् ।

शुक्रवार स्वास्थ्य मन्त्रालयको तर्फबाट नियमित मिडिया ब्रिफिङमा बोल्दै डाक्टर देवकोटाले गत ११ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार सबै कर्मचारीहरूको ३ देखि ७ दिन बराबरको तलब कट्टी गरिएको भएतापनि स्वास्थ्यकर्मीहरूको तलब कट्टी नभएको बताएका हुन् ।

‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट चिकित्सक तथा स्वास्थ्यकर्मीको तलब कट्टी गर्न निर्देशन जारी गरिएको छैन,’ डाक्टर देवकोटाले भने, ‘उच्च मनोबलका साथ काम गर्न अनुरोध गर्दछौं ।’

डाक्टर देवकोटाले अवकाशप्राप्त चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई स्वेच्छिक रूपमा सेवामा आउन अनुरोध गरिएको बताए । त्यस्तै सरकारी छात्रवृत्तिमा अध्ययनरत चिकित्सकहरूलाई पनि परिचालन गर्ने निर्णय गरिएको उनको भनाइ छ ।

प्रकाशित मिति: शनिबार, चैत्र २९, २०७६