अर्थ/विजनेस हेडलाईन न्युज

एनसेलले सरकारलाई बुझायो ४ अर्ब ६० करोड लाभकरको किस्ता

सुनकोशी न्युज,
२०७६ चैत १८ गते
काठमाडौं । निजी क्षेत्रको मोबाइल सेवाप्रदायक संस्था एनसेलले सरकारलाई पुँजीगत लाभकरको दोस्रो किस्ता बुझाएको छ ।
एनसेलले मंगलबार ठूला करदाता सेवा कार्यालयमा ४ अर्ब ६० करोड रुपैंया लाभकर दाखिला गरेको ठूला करदाता सेवा कार्यालयका प्रमुख कर प्रशासक झलकराम अधिकारीले जानकारी दिए ।
यसअघि, पुस १५ गते प्रथम किस्तास्वरुप एनसेलले ४ अर्ब ५० करोड रुपैंया बुझाएको थियो । यो रकमसँगै एनसेलबाट पुँजीगत लाभकर स्वरुप ९ अर्ब १० करोड रुपैंया भुक्तानी भएको छ ।
सर्वोच्च अदालतले एनसेललाई २२ अर्ब ४५ करोड रुपैंया भुक्तानी गर्नुपर्ने गरी पुँजीगत लाभकर निर्धारण गरेको थियो । यो लाभकर रकमलाई स्वीकार गरेको एनसेलले उक्त कर तिर्न किस्ता सुविधा माग गरेको थियो ।
एनसेलको प्रस्तावलाई औपचारिक रुपमा स्वीकार नगरे पनि अर्थ मन्त्रालयको निर्देशनपछि ठूला करदाता कार्यालयले किस्तामा तिरिएको रकम बुझेको थियो ।
एनसेलले अझै १४ अर्ब ४० करोड रुपैंया बुझाउन बाँकी रहेको प्रमुख कर प्रशासक अधिकारीले जानकारी दिए । यो कर निर्धारण गरेको दिनदेखिको १५ प्रतिशत ब्याज सहितको रकम हो । यो रकम सिस्टम आफैंले निर्धारण गर्ने उनको भनाइ थियो ।
‘बाँकी रकम लकडाउन खुल्नेबित्तिकै तिर्न हामीले भनेका छौं । सिस्टमले चैत मसान्तसम्म उक्त रकम तिरे थप ब्याज जोड्दैन । उहाँहरुले पनि बैंकबाट ऋण मिलाउँदै गरेकोले ऋण स्वीकृत हुनेबित्तिकै बुझाउँछौं भन्नुभएको छ’ अधिकारीले भने ।

प्रकाशित मिति: मङ्लबार, चैत्र १८, २०७६