अर्थ/विजनेस हेडलाईन न्युज

तीन दिनमा ८७ हजार ६३० सिलिण्डर ग्यास बिक्री :निगम, अझै पाएनौं : उपभोक्ता

सुनकोशी न्युज,
२०७६ चैत्र १७

काठमाण्डौं । नेपाल आयल निगमले हजारौँको संख्यामा ग्यास सिलिण्डर वितरण गरेको जिकिर गरे पनि सर्वसाधारणले भने अझै सहज रूपमा ग्यास नपाएको गुनासो गरेका छन् ।
कोभिड(१९ का कारण देशभर खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव सिर्जना भइरहेको उपभोक्ताको गुनासो आइरहँदा तीन दिनमा झण्डै ८८ हजार सिलिण्डर ग्यास बिक्री भएको निगमले जनाएको छ। नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले तीन दिनको अवधिमा ग्यास उद्योगीले निगमलाई उपलब्ध गराएको तथ्यांकानुसार १४, १५ र १६ चैतमा ८७ हजार ६३० सिलिण्डर बिक्री भएको बताए।

उनका अनुसार १६ चैत दिउँसो १ बजेसम्म उपभोक्तालाई भरी सिलिण्डर अर्थात् १४.२ किलोको दरमा वितरण गरिएको र १ बजेपछि आधा सिलिण्डर वितरण गरिएको थियो।

१४ चैतमा ३३ हजार ६५८, १५ चैतमा १४ हजार १०८ र १६ चैतमा ३९ हजार ८६४ सिलिण्डर ग्यास वितरण गरिएको उपाध्यायले बताए।

औषतमा मासिक ३८ हजार टन ग्यास आयात हुँदै आएकामा मार्च महीना ९१८ फागुनदेखि १५ चैतसम्म० हालसम्मकै उच्च अर्थात् ४५ हजार टन ग्यास आयात भएको निगमले जनाएको छ।

निगमले उपभोक्ताले अनावश्यक रूपमा ग्यासको मौज्दात राखेको भन्दै १६ चैत दिउँसो १ बजेपछि आधा सिलिण्डर मात्र ग्यास वितरण गर्न उद्योगलाई निर्देशन दिएको छ। निगमको निर्देशनानुसार अपराह्नपछि आधा सिलिण्डर मात्रा वितरण भएको ग्यास बिक्रेता महासंघले जनाएको छ। महासंघका कोषाध्यक्ष राजेश दाहालले आजदेखि बजारमा ग्यासको सहज आपूर्ति भएको बताए।

“पहिलाभन्दा हाल केही सहज भएको छ, तर सबै ठाउँमा ग्यास पर्याप्त रूपमा पाइएको छैन”, उनले भने, “नेपाल ग्यासको अभाव अझै देखिन्छ।”

उपभोक्ताको समस्यालाई ध्यानमा राखी नेपाल ग्यासले बालाजु औद्यौगिक क्षेत्रबाट नै एक हजार सिलिण्डर ग्यास वितरण गर्ने भने पनि उक्त संख्याको ग्यास धेरै माग भएका डिपोमा पठाउँदा उपभोक्तालाई सहज हुने उनको भनाइ छ।

उपभोक्ता घरभित्रबाट बाहिर निस्कन सक्ने अवस्था नभएको र उद्योगबाट वितरण गर्दा प्रभावकारी नहुने भएकाले गुनासो बढी आएको स्थानमा वितरण गर्न उनको आग्रह छ।

निगमले हजारौँको संख्यामा ग्यास सिलिण्डर वितरण गरेको जिकिर गरे पनि सर्वसाधारणले भने अझै सहज रूपमा ग्यास पाएका छैनन्।

प्रकाशित मिति: सोमवार, चैत्र १७, २०७६