हेडलाईन न्युज

एक महिनाको शुल्क मिनाहा गर्न बैंकको ब्याज र घरभाडा मिनाहा हुनुपर्ने निजी विद्यालयको सर्त

सुनकोशी न्युज,
२०७६ चैत्र १७
काठमाडौं । निजी विद्यालयहरुले चैत महिनाको शुल्क मिनाहा गर्न शर्त राखेका छन् ।

सरकारले आइतबार कोरोना भाइरसबाट प्रभावित भएकाहरुलाई राहत घोषणा गर्दा माध्यमिक तहसम्मका निजी स्कुलहरुले एक महिनाको शुल्कमा आवासबाहेक अरु छुट दिन निर्देशन दिएको थियो ।

निजी तथा आवासीय विद्यालय संघ नेपाल (प्याब्सन) ले सरकारको निर्णय स्वागत योग्य भएको तर आफूहरूलाई पनि सरकारले केही राहत दिनुपर्ने बताएकोे छ । प्याब्सनका अध्यक्ष टिकाराम पुरीले बैंकबाट ऋण लिएका विद्यालयहरूलाई एक महिनाको बैंक ब्याज मिनाहाको व्यवस्था गर्नुपर्ने बताएका छन् ।

जग्गा र भवन भाडामा लिएका विद्यालयहरूलाई एक महिनाको भाडा नलाग्ने व्यवस्था सरकारले मिलाउनुपर्ने अध्यक्ष पुरीको माग छ । सरकारले भने असंगठित क्षेत्रका श्रमिकहरूसँग एक महिनाको घर भाडा नलिन घरधनीहरूलाई आग्रह गरेको छ ।

प्याब्सन अध्यक्ष पुरीले यस विषयमा लकडाउन खुलेपछि सरोकारवाला सबैसँग पर्याप्त छलफल गर्ने जानकारी दिए । ‘सरकारले विद्युत महसुलमा २५ प्रतिशत छुट दिएको छ । एक महिनाको भाडा नलिनु भनेको सय प्रतिशत छुट हो’ पुरी भन्छन्, ‘सय प्रतिशत छुट दिँदा कर्मचारीलाई तलब दिन गाह्रो पर्छ ।’

तर निजी विद्यालयहरुले चैत्र र वैशाख महिनाको सबै शुल्क विद्यार्थीबाट चैत्र ५ गत परिक्षा सकिनुअगावै असुल गरिसकेका छन् ।

अभिभावक संघले भने सरकारको निर्णय कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेको हो । अभिभावकको पक्षमा विगतमा भएका निर्णयको पूर्ण कार्यान्वयन नभएको भन्दै उसले यस्तो शंका गरेको हो । अभिभावक संघ नेपालका अध्यक्ष केशव पुरी भन्छन्, ‘सरकारको निर्णय सही छ, तर कार्यान्वयन हुनेमा भने शंकै छ ।’

प्रकाशित मिति: सोमवार, चैत्र १७, २०७६