हेडलाईन न्युज

नैतिकताको आधारमा मन्त्रीबाट राजीनामा दिएँ : गोकुल बाँस्कोटा

सुनकोशी न्युज, २०७६ फाल्गुन ८

काठमाडौँ । सञ्चार सूचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिएका छन् । उनी आफैँले राजीनामाबारे जानकारी दिएका हुन् । केहीबेर अघि ट्वीट गर्दै मन्त्री बाँस्कोटाले राजीनामाको घोषणा गरेका हुन् ।

उनले भनेका छन्, ‘मेरोबारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँछु ।’

यसअघि सभामुख अग्निप्रसाद सापकोटाले मन्त्री बाँस्कोटाको राजीनामाबारे आफूले अनौपचारिक जानकारी पाएको बताएका थिए । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले मन्त्री बाँस्कोटाले राजीनामा दिएको जानकारी आफूले पाएको जिकिर गर्दै यसबारे लिखित जानकारी आउने विश्वास व्यक्त गरेका थिए ।

प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले प्रतिनिधिसभा बैठकमा अवरोध गरेपछि सभामुख सापकोटाले मन्त्री बाँस्कोटाको राजीनामाबारे जानकारी गराएका थिए ।

प्रकाशित मिति: बिहिबार, फाल्गुन ८, २०७६