प्रदेश २ हेडलाईन न्युज

सप्तरीमा मुस्लिम धार्मिकसभा रोक्न गृह मन्त्रालयको सर्कुलर

२०७६ फागुन २
सप्तरी । मुस्लिम समुदायले सप्तरीमा गर्न लागेको धार्मिक सभा अगाडि नबढाउन गृह मन्त्रालयले आदेश दिएको छ ।आयोजकले प्रतिवद्वता पूरा नगरेको भन्दै मुस्लिम समुदायको धार्मिक सभामाथि मन्त्रालयले रोक लगाएको हो ।
धार्मिक सभामा नेपालसहित भारतका मात्रै मुस्लिम धर्माम्बलीको सहभागिता हुने बताइए पनि विश्वका धेरै देशका मुस्लिम धर्मावलम्बीहरुको सहभागिता गराइएको भन्दै गृह मन्त्रालयले कार्यक्रम नगर्न भनेको स्रोतले अनलाइनखबरलाई बतायो ।गृह मन्त्रालयले बिहीबार जिल्ला प्रशासन कार्यालय सप्तरीलाई पत्राचार गरी कार्यक्रम स्थगित गर्न भनेको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी खनालले आयोजकहरुद्वारा नेपाल र भारतका मात्रै मुस्लिम धर्माम्बली बोलाउने जनाइए पनि विश्वका विभिन्न देशबाट मुस्लिमहरु आएका कारण मन्त्रालयबाट यो कार्यक्रम नगर्न भनिएको बताए । गृह मन्त्रालयले कार्यक्रम स्थगन गर्ने आदेश दिएपछि सम्भावित दुर्घटना हुन नदिन प्रशासनले बोदे बर्साइन नगरपालिकाको जाँजरमा ठूलो संख्यामा प्रहरी खटाएको छ ।
बिहीबार दिउँसो ४ बजेदेखि नेपाल-भारत सीमासमेत सिल गरिएको सप्तरी जिल्ला प्रशासनले जनाएको छ । सप्तरीको बोदे बर्साइन नगरपालिकामा आगामी फागुन ३ गतेदेखि ५ गतेसम्म यो धार्मिक सभाको आयोजना गरिने तयारी थियो । यसका निम्ति सबै तयारी पूरा भइसकेको आयोजक समितिले बताएको छ ।
सयौं बिघा जग्गा ओगटेको धार्मिक सभा (इज्तेमा स्थल) मा हजारौंको संख्यामा मानिस अटाउने क्षमताको पण्डाल बनाउने काम अन्तिम चरणमा पुगेको छ । विशिष्ट अतिथिहरूलाई बस्न समेत केही थप पण्डालको निर्माण गरिएको छ ।कार्यक्रमस्थलमा दुुई हजारको संख्यामा अस्थायी शौचालय निर्माण भएको छ भने पण्डालको चारैतिर सहज आवत-जावतका लागि अस्थायी सडकको निर्माण कार्यसमेत पूरा भइसकेको छ ।
भीडभाडको व्यवस्थापन, सुरक्षा व्यवस्था, खानेपानी तथा सरसफाइको समस्या, खानपीन तथा आवासीय समस्या, सम्भाव्य आगलागी, चोरी, स्वास्थ्य शिविर, नजिकको बोर्डरमा प्रवेश सम्बन्धी तयारी गरिसकिएको छ । कार्यक्रमका लागि करिब २ करोड खर्च भइसकेको आयोजकले बताएका छन् ।
प्रकाशित मिति: शुक्रबार, फाल्गुन २, २०७६