विदेश हेडलाईन न्युज

दिल्लीमा फेरि केजरीवालको दबदबा, भाजपा र कंग्रेसलाई फेरि लगाए झाडु : आप ६२, भाजपा ८ सिट, कंग्रेस शून्य 

सुनकोशी न्युज,

२०७६ माघ २९

नयाँ दिल्ली : भारतको राजधानी दिल्ली विधानसभा निर्वाचनमा अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टी (आप) ले अत्यधिक बहुमतसाथ जित हासिल गरेको छ। ७० सिटका लागि भएको निर्वाचनमा आपले ६२ सिट जितेको हो। यो ८८.५७ प्रतिशत हो। भाजपा ८ सिटमा सीमित भएको छ। चुनावमा दिल्लीमा १५ वर्ष लगातार शासन गरेको भारतीय कंग्रेस शून्य देखिएको छ।

केजरीवालले मत परिणामले भारतमा नयाँ राजनीतिलाई जन्म दिएको बताए। उनले भने, ‘दिल्लीका जनताले निर्वाचनमा जसले स्कुल बनाउँछ, क्लिनिक बनाउँछ, २४ घण्टा बिजुली सस्तोमा दिन्छ, त्यसलाई भोट दिने सन्देश दिएका छन्।’

केजरीवालले कामका आधारमा राजनीति गरेको उल्लेख गर्दै आगामी पाँच वर्ष दिल्लीका दुई करोड जनतासँग मिलेर काम गर्ने शक्ति हनुमानजीले प्रदान गरून् भन्दै मतदातालाई धन्यवाद दिएका छन्। उनले भने, ‘दिल्लीका जनताले तेस्रोपटक पनि आफ्ना छोरालाई जिताएका छन्। यो जित ती सम्पूर्ण परिवारको जित हो, जसले मलाई आफ्नो छोरा मानेर जबरदस्त समर्थन गर्नुभयो।’

कंग्रेसको भने कतिपय स्थानमा जमानत जफत भएको छ। सन् २०१५ मा भएको निर्वाचनमा शून्यमा झरेको कंग्रेस यस निर्वाचनमा लुप्तप्रायः भएको छ। दिल्लीका जनताले कामको राजनीतिलाई समर्थन गरेर अन्य राज्यलाई पनि दृष्टान्त दिएको विश्लेषण भइरहेको छ। आपले आगामी पाँच वर्षमा गर्ने कामको १० बुँदे फेहरिस्त जारी गर्दै अघिल्ला वर्षको कामको आधारमा भोट मागेको थियो।

प्रधानमन्त्री मोदीले केजरीवाललाई बधाई दिँदै दिल्लीका जनताको आकांक्षाअनुसार काम गर्न सकून् भन्दै ट्विटमार्फत शुभकामना दिएका छन्। कंग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीले पनि केजरीवाललाई बधाई दिएका छन्।

दिल्लीमा गत शनिबार मतदान भएको थियो। मतदानको करिब २४ घण्टापछि चुनाव आयोगले आइतबार मतदानको आँकडा सार्वजनिक गरेको थियो। आपले चुनाव आयोगको यो ढिलाइमा प्रश्न पनि उठाएको थियो। ६२.५९ प्रतिशत मतदान भएको थियो। यो २०१५ को तुलनामा पाँच प्रतिशत कम हो।

दिल्ली निर्वाचन आयोगका अनुसार गत विधानसभाको चुनावको तुलनामा यस पटकको चुनावमा तीन लाख ७५ हजार मतदाता थपिएका थिए। दिल्लीमा कुल मतदाता संख्या एक करोड ४६ लाख ९२ हजार १३६ छन्।

प्रकाशित मिति: बुधबार, माघ २९, २०७६