अर्थ/विजनेस हेडलाईन न्युज

ग्यासको मूल्य २५ रुपैंया बढ्यो, पेट्रोल, डिजेल र मट्टितेलमा १–१ रुपैंया घट्यो

सुनकोशी न्युज
२०७६ माघ २०
काठमाण्डौं । सरकारले पेट्रोल, डिजेल र मट्टीलेतको मूल्य घटाएको छ भने खाना पकाउने ग्यास (एपिजी) को मूल्य बढाएको छ ।
नेपाल आयल निगमका अनुसार सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो । पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ घट्दा खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढेको छ । पेट्रोलको मूल्य १ सय १० रुपैया कायम भएको छ । डिजल तथा मट्टितेलको मूल्य ९९ रुपैयाँ कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा एलपी ग्यासको मूल्य बढेको भन्दै निगमले आज राति १२ बजेदेखि लागू हुने गरी ग्यासमा प्रतिसिलिन्डर रु २५ ले वृद्धि गरेको हो । यससँगै ग्यासको मूल्य प्रतिसिलिन्डर रु १,३७५ पुगेको छ । निगमले हवाई इन्धनको मूल्य भने यथावत नै राखेको छ ।
निगमले ‘पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१’ अनुसार प्रत्येक १५–१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ । भारतीय आयल निगमले प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाउँदै आएको छ ।
मूल्य समायोजन पश्चात भारतमा भन्दा नेपालमा इन्धन मूल्य सस्तो छ । वीरगन्ज नाकामा इन्धनको मूल्य भारतको रक्सौलमा कायम पेट्रोलको बिक्री मूल्यभन्दा प्रतिलिटर १६ रुपैयाँ ४० पैसा र डिजलको मूल्य प्रतिलिटर १६ रुपैयाँ २७ पैसा सस्तो रहेको निगमले जनाएको छ ।

प्रकाशित मिति: सोमवार, माघ २०, २०७६