हेडलाईन न्युज

मरिण महोत्सवमा भरपुर व्यापार र मनोरञ्जन, एक करोड बराबरको आर्थिक कारोबार : बम्जन (फोटो फिचर सहित)

सुनकोशी न्युज,
२०७६ माघ १८ गते
सिन्धुली । मरिण गापा, वडा नं. ४, सहानको फाँटमा संचालन गरिएको मरिण महोत्सवमा विभिन्न जिल्लाबाट मानिसहरुको उल्लेख्य सहभागिता रहेको छ । अहिलेसम्म मेला अवलोकन गर्नेको संख्या लगभग एक लाख पुगेको मरिण गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ३ का अध्यक्ष विमर्श मोक्तानले बताउनुभयो । सर्लाही, काभ्रे, मकवानपुर लगायत सिन्धुलीका हरिहरपुरगडढी गा.पा., घ्याङ्लेख, कमलामाई नपा लगायत स्थानबाट मेला अबलोकन गर्न मानिसहरु आएका थिए ।

मरिण गाउँपालिकाको सहानमा माघ ७ गतेदेखि सुरुभएको मरिण महोत्सव १९ गते सकिदैछ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र प्रतिनिधिसभा, सिन्धुली–२ का सांसद तथा पूर्वकृषि मन्त्री हरिबोल गजुरेलले भव्य समारोहबीच महोत्सवको उद्घाटन गर्नुभएको थियो ।
सिन्धुली उद्योग वाणिज्य संघ, मरिण उद्योग वाणिज्य संघ र मरिण गाउँपालिले संयुक्त रुपमा महोत्सव आयोजना गरेका हुन् ।

महोत्सवमा अहिलेसम्म एक करोड बराबरको आर्थिक् कारोबार भएको मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बमजनले बताउनुभयो ।
मेलामा प्याराग्लाइडिङको पनि व्यवस्था गरिएको छ । अध्यक्ष बम्जन र प्रवक्ता मोक्तानले सबैभन्दा पहिला प्याराग्लाइडिङ चढेर सबैलाई चढ्न आव्हान गर्नुभएको थियो । प्याराग्लाइडिङ चढेबापत प्रतिव्यक्ति पाँचहजार रुपैया लाग्छ । पश्चिमपटिको मधुवन पहाडबाट उडाएर मेला लागेको मैदानमा अवतरण गरिन्छ ।

मरिणखोलाको प्रख्यात माछा खाना, लोकल कुखुरा खाना, स्थानीय कृषि उपज लगायत राखिएको छ । मेलामा लालबन्दी, सिन्धुलीमाढी, बागमति, चन्द्रनिगाहपुर लगायत शहरबाट स्टल राख्न व्यापारीहरु पुगेका छन् । भारतबाट आएका विभिन्न मनोरञ्जनात्मक कला र खेलले मेलामा रौनक थपेको छ । पिङ, मौतका कुवा लगायत दर्जनौं मनोरञ्जनका खेलहरु राखिएका छन् । यसले मेलामा सहभागीलाई भरपुर मनोञ्जन दिएको मरिण गाउँपालिका अध्यक्ष बम्जनले बताउनुभयो ।

मरिण कृषि क्याम्सले गड्यौला प्रविधिबाट मल कसरी उत्पादन हुन्छ भनेर देखाउन स्टल संचालन गरेको क्याम्पस संचालक समितिका अध्यक्ष रामकुमार पौडेलले बताउनुभयो । मेलामा राष्ट्रियस्तरका कलाकारका साथै कलाघर सिन्धुलीका कलाकारहरुले विभिन्न कला प्रस्तुती गरेका थियो । साथै विभन्न झाँकीहरु पनि प्रदर्शन गरिएको छ । कार्यक्रममा माझी, मगर, तामाङ, नेवार, लगायतका जातिको झाँकी प्रस्तुत गरिएको थियो ।
कपिलाकोट इलाका प्रहरी कार्यालयले भेलामा सुरक्षा प्रदान गरेको छ ।

फोटो फिचर सहित :

 

प्रकाशित मिति: शनिबार, माघ १८, २०७६