बागमती समाचार

शंखधर पार्क निर्माणका लागि मध्यपुर थिमी नगरलाई काठमाडौं महानगरको १ करोड अनुदान

काठमाडौं । काठमाडौं महानगरपालिकाले मध्यपुर थिमी नगरलाई अन्तरनगर साझेदारी कार्यक्रमअन्तर्गत १ करोड रुपैयाँ अनुदान रकम प्रदान गरेको छ । नगरको वडा ४ मा पर्ने शंखधर पार्क निर्माणका लागि उपलब्ध गराएको उक्त अनुदान रकम बुधबार महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले थिमीका नगर प्रमुख मदनसुन्दर (जगुलु) श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो । नगर प्रवेशद्वार नजिक आयोजना गरिएको सम्झौता तथा रकम हस्तान्तरण पछि मेयर शाक्यले पार्क निर्माणको शिलान्यास गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै महानगरका प्रमुख शाक्यले — यस प्रकारको साझेदारि काठमाडौं जिल्लाबाहिरका नगरसँगको पहिलो भएको उल्लेख गर्नुभयो । काठमाडौं जिल्लाका सबै नगरलाई सार्वजनिक जग्गा संरक्षण गर्न, हरियाली बढाउन तथा पार्क निर्माण गर्न १ १ करोड रुपैयाँ अनुदान दिएका छौं । हामी महानगरको व्यवस्थापनसँगै आसपास अन्य नगरसँगको साझेदारिताबाट बिकासमा साझेदारिता गरिरहेका छौं । थप्दै उहाँले भन्नुभयो — मध्यपुर थिमीसँगको सहकार्यबाट हाम्रो क्षेत्र थप बिस्तार भएको छ ।

त्यस क्रममा मध्यपुर थिमीका प्रमुख मदनसुन्दर श्रेष्ठले — महानगरबाट उपलब्ध भएको अनुदान रकमबाट निर्माण हुने पार्कबाट नगरबासीलाई लाभ पुग्ने बताउनुभयो । नगरको समृद्धिकालागि हामीले आन्तरिक र बाह्य दुवै प्रकारका श्रोत परिचालन गरेका छौं, मेयर श्रेष्ठको भनाइ थियो । त्यस क्रममा बोल्दै वडा ४ का अध्यक्ष कुमार श्रेष्ठले महानगरको सहयोगमा आफ्नो वडामा ठूलो योजना सञ्चालन हुने भएकोमा खुशी लागेको बताउनुभयो ।

पार्क निर्माणका लागि १७ करोड रुपैयाँको गुरुयोजना तयार पारिएको छ । शुरुमा १७ रोपनी क्षेत्रफलबाट काम थालनी गरिनेछ । त्यसपछि क्रमशः जोडिएको ५३ रोपनी जग्गामा पार्क बिस्तार गर्ने नगरको योजना छ । -चन्द्रमणी भट्टराई

प्रकाशित मिति: बुधबार, माघ १५, २०७६