पत्रपत्रिकाबाट हेडलाईन न्युज

हिजो दिनभरिका मुख्यमुख्य घटना तथा पत्रपत्रिकामा आज छापिएका समाचार अपडेट

सुनकोशी न्युज,
२०७६ मा्घ ४

विश्वकै होचा खगेन्द्र थापामगरको २८ वर्षको उमेरमा निधन
विश्वकै होचा व्यक्तिका रूपमा गिनिज बूकमा कीर्तिमानी नाम राखेका खगेन्द्र थापामगरको निधन भएको छ ।

शुक्रवार दिउँसो पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारार्थ रहेका थापामगरको निधन भएको हो ।

उनी २८ वर्षका थिए । उनलाई बिहीवार राति अस्पतालमा भर्ना गरिएको अस्पतालले जनाएको छ । खगेन्द्रमा मुटुको समस्या थियो ।

बाग्लुङमा जन्मेका खगेन्द्र जम्मा ५७ सेन्टिमिटरका थिए । उनले २०६७ साल असोज २८ गते विश्वकै होचा व्यक्तिका रूपमा किर्तिमान कायम गरेका थिए ।

के रह्यो बालुवाटारमा ओली, प्रचण्ड र देउवाबीच भएको छलफलको निष्कर्ष ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीबीचको छलफलमा सत्यनिरुपण तथा मेलमिलापसम्बन्धी कानून बनाएर अघि बढ्ने सहमति भएको छ ।

तीनवटै नेताबीच शुक्रवार बिहान बालुवाटारमा छलफल भएको थियो । बैठकमा सभापति देउवासँगै डाक्टर मिनेन्द्र रिजाल र रमेश लेखक उपस्थित भएका थिए भने नेकपाका तर्फबाट अध्यक्षद्वयसँगै सुवासचन्द्र नेम्वाङ र अधिवक्ता खिमलाल देवकोटा सहभागी थिए ।

गत पुस २८ गते कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले देशैभर अन्तरक्रिया कार्यक्रम गरेको थियो । अन्तरक्रिया कार्यक्रमपछि आएका सुझावहरू समेटेर तयार पारिएको प्रतिवेदन नेतात्रयले बुझेका थिए ।

‘प्राप्त सुझावका समेटेर सहमतिमा नयाँ कानून बनाएर अघि बढ्ने सहमति भएको छ,’ बैठकमा सहभागी एक नेताले लोकान्तरसँग भने, ‘कानून मन्त्रालयले तयार पारेको मस्यौदा संसदमा पेश गरेर नयाँ कानून बनाउने विषयमा सबैको एकमत रह्यो ।’

गतसाल चैत्र मसान्तदेखि सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग पदाधिकारीबिहीन छन् । पदाधिकारी नियुक्तिका लागि पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा सिफारिस समितिसमेत बनेको छ ।

राजनीतिक सहमति नजुट्दा सिफारिस समितिले पदाधिकारीको नाम सिफारिस गर्न सकेको छैन ।

पत्यकाको आठ चोकमा बल्न थाल्यो ‘ट्राफिक बत्ती’
काठमाडौं उपत्यकाका विभिन्न आठ चोकमा ‘ट्राफिक बत्ती’ सञ्चालनमा आएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा र सडक विभागको समन्वयमा लामो समयदेखि बन्द रहेका उपत्यकाका आठ चोकमा ‘ट्राफिक बत्ती’  सञ्चालनमा आएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले पुतलीसडक, पद्मोदय मोड, सिंहदरबार, पुरानो बानेश्वर, नयाँ बानेश्वर, तीनकुने, गौशाला र ललितपुरको महापालमा ट्राफिक लाइट पुनः सञ्चालनमा ल्याइएको जानकारी दिए ।अबको केही दिनमै मित्रपार्क, कालीमाटी, टङ्केश्वर, परोपकार र पुल्चोकमा ट्राफिक बत्ती सञ्चालनमा ल्याउँछौं’, उनले भने ।

प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी महानिरीक्षकले ट्राफिक व्यवस्थापनमा चासो दिएसँगै १३ वर्षपछि उपत्यकाको चोकमा ट्राफिक बत्ती जडान गरिएको महाशाखाले जनाएको छ ।

उपत्यकाको ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरणमा ट्राफिक बत्ती जडानले सहयोग पुग्ने महाशाखा प्रमुख ढकालको भनाइ छ ।

नेपालमा पहिलो पटक विसं २०२३ मा सिंहदरबार र राजदरबारको दक्षिणी ढोका, सुनधारा र नयाँ सडकमा ट्राफिक बत्ती जडान गरिएको थियो ।

त्यसपछि जापान सरकारको सहयोगमा विसं २०५८ मा ट्राफिक बत्ती जडान गरिए पनि पछिल्लो समय बिग्रिएको थियो ।

रोजगारीका लागि ८७ मुलुकका श्रमिक नेपालमा

विश्व वन्यजन्तु कोषको नेपालस्थित कार्यालयमा बाघ विशेषज्ञका रुपमा काम गर्न आएका बेलायती नागरिक स्टर्ट अलेक्जेन्डर चापम्यान गत विहीबार श्रम तथा व्यवसायजन्य विभागबाट श्रम इजाजत लिँदै हुनुहुन्थ्यो । विभागका कर्मचारी उहाँको राहदानीलगायत अन्य कागजपत्र रुजु गर्दै तस्वीर तथा औँठाछाप लिँदै थिए । च्यापम्यान पहिलो पटक श्रम इजाजतका लागि विभाग पुग्नुभएको थियो ।

नेपाल वायुसेवा निगममा क्याप्टेनका रुपमा काम गर्न नेपाल आएका भारतीय नागरिक कञ्जवालजित सिंह चिमा पनि विभागमा उपस्थित भएर नेपालमा काम गर्न अनुमति लिँदै हुनुहुन्थ्यो । यस्तै माथिल्लो त्रिशूली थ्रि–ए जलविद्युत् आयोजनाको २२० केभी प्रशारणलाइन परियोजनामा ‘एकाउन्टेन्ट’का रुपमा काम गर्र्दै आएका चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेशनका कर्मचारी चिनियाँ नागरिक वेइ लिन श्रम इजाजात नवीकरण गर्न विभाग पुग्नुभएको थियो । बिहीबारमात्रै विभागबाट ११ विदेशी नागरिकले श्रम इजाजत लिएका थिए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले रोजगारीका लागि नेपालमा आएका विदेशी श्रमिकलाई श्रम इजाजत प्रदान गर्दै आएको छ । विभागले साताको दुई दिन सोमबार र बिहीबार श्रम स्वीकृति दिने गरिरहेको छ ।

श्रम विभागले आर्थिक वर्ष २०६९/७० देखि विदेशी नागरिकलाई श्रम इजाजत दिन थालेको हो । आव २०६९/०७० मा ९८४ विदेशीलाई विभागले श्रम इजाजत दिएको थियो । यस्तै आव २०७०/०७१ मा ७१९, आव २०७१/०७२ मा २ हजार १९, आव २०७२/०७३ मा १ हजार ४७२ विदेशी नागरिकलाई श्रम इजाजत प्रदान गरिएको विभागले जनाएको छ ।

पशुपति क्षेत्रका अव्यवस्थित पसल तथा टहरा हटाइने

पशुपति क्षेत्रमा अव्यवस्थित ढंगले राखिएका पसल तथा टहरा हटाइने भएको छ ।

पशुपति क्षेत्र विकास कोषले मूल सडक, सडकपेटी, खुला चौर, कैलाशडाँडा, गोरखनाथ क्षेत्र र भकुण्डोलमा क्षेत्रमा अव्यवस्थित तबरले राखिएका पसल तथा टहरा हटाउने भएको हो ।

कोषले सार्वजनिक सूचना नै प्रकाशित गरी अनुमति नलिई आवागमनमा समेत प्रभाव पार्ने गरी सञ्चालित पसल तथा टहरा ७ दिनभित्र हटाउन आग्रह गरेको हो ।

कोषले माघ १ गते सूचना जारी गरेको हो ।

तोकिएको म्यादभित्र नहटाइएका पसल तथा संरचना त्यसपछि कोष आफैंले हटाउने सूचनामा उल्लेख छ ।

कमोडिटी व्यापारमा डुबेपछि आत्महत्या

नागरिकमा प्रकाशित समाचारअनुसार थानकोटका विनय लामिछाने बिहीबार साँझ सपरिवारै धादिङको बेनिघाटस्थित त्रिशुली नदिमा हेलिए । काठमाडौँको चन्द्रागिरी नगरपालिका वडा नं ४, थानकोट बस्दै आइरहेकाका लामिछाने, उनकी पत्नी २७ वर्षीया जमुना रेग्मी लामिछाने र दुई नाबालक छोरासहित नदीमा डुबे । विनयलाई स्थानीयले उद्धार गरे भने जमुना मृत भेटिइन् । उनीहरुका दुई वर्षे र छ महिने छोराहरु बेपत्ता छन् ।

आफन्तका अनुसार जमुनाको सानो छोराको शुक्रबार भात खुवाइ (पास्नी) थियो । चन्द्रागिरिस्थित घरमा सुत्केरो परेको हुनाले जमुनाको माइतीमा पास्नी गर्ने योजना अनुरुप उनीहरु बिहीबार नै धादिङ तर्फ आएका थिए । तर, माइती रहेको आदमघाट बजारमा नझरीकन उनीहरु झण्डै ५० किलोमिटर पर बेनिघाट रोराङ गाउँपालिका वडा नं ४ बाँदरेमोड भन्ने ठाउँमा ओर्लिएका थिए । घटनास्थलमा प्रहरीले भेटेको झोलाभित्र बच्चाको पास्नीका लागि ल्याइएको कपडाहरु, हातमा लगाउने बालाहरु थिए ।

त्रिशुली नदीमा पस्नुअघि लामिछाने दम्पतीसँग प्रत्यक्ष भेटेकी बाँदरेमोडमा होटल सञ्चालक बदनकुमारी श्रेष्ठका अनुुसार सिमसिम पानीमा बच्चा बोकेर यताउती गरिरहेका थिए । पारी जाने बाटो पनि खोजी रहेको उनले बताइन् । ‘मेरो बहिनीको घरमा उनीहरुले नै ल्याएको दुध तताएर सानो छोरालाई खुवाए, त्यसपछि नजिकैको झोलुङगे पुल तरेर उनीहरु पारि गएका थिए’, उनले भनिन्, ‘एकै छिनमा मान्छे बगायो–बगायो भन्ने हल्ला आयो, हत्तपत्त यहाँकै स्थानीय कायक लिएर दगुरे, तीनै दम्पती पो रहेछन् ।’

घटनापछि प्रहरीले लामिछाने परिवारको घरबाट सुसाइड नोट समेत भेटेका छन् । ऋणका कारण आफूहरुले आत्महत्यालाई नै अन्तिम विकल्पका रुपमा रोजेको सुसाइड नोट भेटिएको प्रहरीले बताएको छ । मिटरब्याजमा लिएको पैसा तिर्न नसक्ने अवस्थामा पुगेपछि दम्पती सल्लाहमा नै त्रिशूलीमा हेलिएको प्रहरीको भनाइ छ । मकवानपुरको चित्लाङमा जन्मेमा लामिछाने हाल चन्द्रागिरी नगरपालिका अन्तर्गत थानकोटमा बस्दै आएका थिए । उनीहरुले तिनकुनेस्थित कमोडिटी अनलाइन व्यापारमा सेयर लगानी गरेका थिए ।

सेयर लगानी गर्न विभिन्न व्यक्तिहरुबाट मिटर ब्याजमा करिब दुई करोड ऋण लिएको थानकोटस्थित घरबाट प्रहरीले फेला पारेको ‘सुसाइड नोट’बाट पत्ता लागेको प्रहरीले जनाएको छ । उनीहरुले ऋण लिएको रकम र ऋण दिने व्यक्तिको नाम र तिर्नुपर्ने रकम उल्लेख गरिएको घरमा छोडेको लिखतमा फेला परेको प्रहरीले बताएको छ । माघ २ गते लेखेर घरमा छोडिएको सुसाइड नोटमा विभिन्न व्यक्तिको नामसमेत उल्लेख गरिएको छ ।

नयाँ नक्सा बनाउन कसको डर 

अन्नपूर्ण पोस्ट्का अनुसार लिम्पियाधुरालगाइत नेपाली भूभागमा समेटिएको नक्सा जारी गर्न सरकारलाई चौतर्फी दबाब छ । तर, त्यसप्रति सुरसारै नदेखिएपछि विज्ञले चिन्ता व्यक्त गरेका छन् । संसदीय समितिले पनि  लिम्पियाधुरासहितका भूभाग समेटेर नक्सा जारी गर्न निर्देशन दिएपनि सरकारले छाप्न आँट गरेको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासहित सीमा अभियन्ता सम्मिलित सर्वपक्षीय भेलाले नेपालको नक्सा सच्याउने प्रतिबद्धता जनाएको थियो । भारतले भने १४ दिनमै दुईवटा नक्सा बनाएको छ । उसले गत कात्तिक १६ मा कालीनदीसहितको नक्सा जारी गरेको थियो भने नेपालमा हल्लीखल्ली मच्चिएपछि भारतले काली नदी हटाएर नक्सा सच्याएको थियो ।

त्रिभुवन विश्वविद्यालयका भूगोल विभागका पूर्वप्रमुख प्रा.डा. नरेन्द्रराज खनालले तत्काल लिम्पियाधुरासहित नक्सा प्रकाशन गरी कूटनीतिक र राजनीतिक पहल गर्न सुझाव दिएका छन् । नेपालले अढाई महिना बित्दापनि नक्सा छपाईको सुरसार नगर्नु दुर्भाग्यपूर्ण रहेको उनी बताउँछन् । ‘भारतले जतिखेर पनि नेपाली भूभाग मिचेको नक्सा जारी गर्न सक्छ तर नेपालले किन सक्दैन ?’, उनी भन्छन् ।

प्रकाशित मिति: शनिबार, माघ ४, २०७६