स्थानीय

छ महीनामा ५४ एचआइभी सङ्क्रमित

चितवन, ३ साउन । सन् २०१९ को छ महीनामा जिल्लामा ५४ नयाँ एचआइभी सङ्क्रमित भेटिएका छन् । जिल्लाको विभिन्न स्थानमा गरिएको सात हजार ८०१ जनाको रगत परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् । योसँगै जिल्लामा अहिले एक हजार ७६४ सङ्क्रमित पुगेको भरतपुर अस्पतालमा रहेको एन्टी रेट्रो भाइरल थेरापी सेवा केन्द्रले जनाएको छ । केन्द्रका अनुसार उनीहरुमध्ये ८८९ ले नियमित औषधि सेवन गर्दै आएका छन् । अन्य जिल्लाबाट चितवनमा स्थानान्तरण भई आएका ७८ सङ्क्रमितले पनि केन्द्रबाट सेवा लिइरहेका छन् । सन् २०१८ को अन्त्यमा जिल्लामा एक हजार ६८५ सङ्क्रमित थिए । सन् २०१८ मा १७ हजार ११० को परीक्षण गरिएकामा १११ नयाँ सङ्क्रमित भेटिएका थिए ।
प्रकाशित मिति: शुक्रबार, साउन ३, २०७६