कृषि हेडलाईन न्युज

मासुको भाउ बढाउन तीस लाख चल्ला जिउँदै गाडियो, यो कार्टेलिङ हो, कारबाही गर्छौं : मन्त्री भुसाल

नेपाल ह्याचरी उद्योग संघले ब्रोइलर कुखुराको मासुको मूल्य समायोजन गर्ने भन्दै झन्डै ३० लाख चल्ला जिउँदै गाडेको छ। संघले यही साता चितवनलगायत ठाउँमा चल्ला मारेको छ भने अण्डा पनि नष्ट गरेको छ। ४५ करोड मूल्य बराबरको अण्डा नष्ट गरिएको ह्याचरी संघका अध्यक्ष टीकाराम पोखरेलले बताए।

पछिल्लो समय मासुको मूल्य घटेको र चल्ला र अण्डा नष्ट गर्दा कुखुराको मासु बजार सन्तुलनमा आउने दाबी गर्दै संघले निर्मम तरिकाले जिउँदै चल्ला पुर्न लगाएको थियो।

संघका उपाध्यक्ष लक्ष्मीभक्त मानन्धरले अहिले डेढ सय रुपैयाँ प्रतिकिलो कुखुराको मासु बेच्दा किसानलाई मर्का परेको र लगानी नै नउठ्ने गरेकाले उनीहरूकै हितलाई ध्यानमा राखेर यो कदम चालिएको दाबी गरे।

उपाभोक्ता हितविपरीत चल्ला मार्न लगाइएको भन्दै पोल्ट्री किसानले भने बिरोध गरेका छन्।

‘ब्रोइलरको उत्पादन बढी भएको र मूल्य नपाएको भनेर नष्ट गर्न लगाइएछ, मूल्य बढाउने यो तरिका ठीक होइन,’ पोल्ट्री किसान तथा अभिनेता सरोज खनालले सेतोपाटीसँग भने, ‘एकचोटी नष्ट गरेर मूल्य बढिरहने भन्ने तर्क नै भएन। उत्पादक र उपभोक्ताको हितमा मूल्य हुनुपर्छ,  यो सरकारले सोच्नुपर्ने विषय हो।’

संघका उपाध्यक्ष मानन्धरका अनुसार अहिले सातामा ३० लाख चल्लाको माग छ भने उत्पादन ४५ लाख हुन्छ।

यसहिसाबले एक साताको चल्ला नष्ट गर्दा मासु उत्पादनको सन्तुलन मिलेर मूल्य पाइने उनको दाबी छ।

पुस २ गतेसम्म संघले १५ करोड रूपैयाँ बराबरका ३० लाख चल्ला र ४५ करोड मूल्य बराबरका अण्डा नष्ट गरेका छ। काठमाडौं, धनगढी, बुटवल, चितवन, पोखरालगायतका ठाउँका चल्ला तथा अन्डा नष्ट गरिएको हो।

संघले मंसिर २९ देखि पुस ८ गतेसम्म चल्ला उत्पादन नगर्ने घोषणा गरेको छ। १० दिनमा ६० लाख चल्ला उत्पादन नभएपछि बजारमा मासुको अभाव सृजना हुनेछ।

मूल्य समायोजन गर्ने भन्दै  चल्ला मार्ने काम निर्मम त छँदैछ यसले फौजदारी संहिताको पनि उल्लंघन गरेको छ।  माग, आपूर्ति र मूल्यमा असर पार्ने काम  गर्नेलाई तीन वर्षसम्म कैद हुने व्यवस्था संहितामा गरिएको छ। फौजदारी संहिताकै बर्खिलाप हुने गरी चल्ला मार्दासमेत संलग्नको पहिचान गर्न भने प्रशासन असक्षम देखिएको छ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले चल्ला मारिएको कुरा नै साँचो नभएको बताए।

‘यसो सामाजिक सञ्जालमा देखाउनका लागिमात्र चल्ला मारेजस्तो देखिन्छ, यतिधेरै मारिएको भन्ने हल्लामात्र हो,’ उनले भने।

चल्ला मारेको विषयमा आवश्यक अनुसन्धान भने भइरहेको अधिकारीले बताए।

चल्ला तथा अण्डा नष्ट गर्नु पशुपंक्षी ऐनविपरीत मात्र होइन, संयुक्त राष्ट्रसंघ खाद्यसम्बन्धी मानव अधिकारसमेत हनन् हुने उपभोक्ता अधिकारकर्मी अभियन्ता ज्योति बानियाँ बताउँछन्। चल्ला मार्ने कार्यले राज्यको करोडौं लगानी खेर गएको उनले बताए।

‘यहाँ व्यक्तिको होइन, बैंकको लगानी खेर गएको छ। राज्यको रकम बर्बाद पारिएको छ,’ उनले भने, ‘अर्थतन्त्रलाई असर पार्ने काम गर्न पाइँदैन, यो त सरासर बेइमानी हो।’

कृत्रिम अभाव देखाउनु एकातर्फ कालोबजारी हो भने अर्कोतर्फ ‘कार्टेलिङ’ हो। खुला बजार अर्थनीति लिएका मुलुकमा यस्तो ‘कार्टेलिङ’ गर्नेलाई कालोबजारी ऐन आकर्षित गरेर कारबाही गरिन्छ।

कृत्रिम अभाव, कार्टेलिङजस्ता गतिविधिलाई प्रतिस्पर्धा ऐनले पनि कारबाही गर्न सक्छ। यो अधिकार हरेक जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई छ। उनीहरूले अनुगमन गरेर ‘अन द स्पट’ कारबाही गर्न सक्ने बानियाँले बताए।

नेपालमा कुखुराको मासुको मूल्य तोक्ने आधिकारिक निकाय छैन। मासुबजार बिचौलियाको मुठीमा रहेकाले केहीले मासुको मूल्य बढाएर नाफा कमाउन चल्ला मार्ने र अण्डा नष्ट गर्ने उपाय लगाएका हुन्।

नेपालको मासुबजार मूल्य निर्धारण सरकारको हातमा छैन। सीमित व्यवसायीले मासु बजारलाई आफ्नो हातमा राखेर मूल्य तोकिरहेका छन्।

काठमाडौं उपत्यकामा कुखुराको मासुको मूल्य निर्धारणमा भ्याली कोल्ड स्टोरको ठूलो भूमिका हुन्छ। वितरण प्रणाली व्यापक भएको हुनाले उसले चाहेअनुसार मूल्य निर्धारण गर्न सक्छ।

भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावल हुन्। उनकै संलग्नतामा कुखुराको मासुको मूल्य तोकिने र बजारभरि मूल्य कायम हुने गरेको छ।

‘बजार अनुगमन छैन, मूल्य तोक्ने निकाय छैन,’ एक पोल्ट्री व्यवसायीले भने, ‘हामीले मूल्य बढाउन खोज्यौं भने कुखुरा उठाइदिँदैनन्, उनीहरूकै मूल्यमा हामीले दिनुपर्ने बाध्यता छ।’

रावलले चल्ला नष्ट गर्नुअघि ह्याचरी संघसँग सल्लाह गरेको बताए। उनले खपतभन्दा उत्पादन बढी भएर मूल्य नपाएपछि संघले चल्ला नष्ट गरेको बताए।

‘हामीले सल्लाह गरेरै चल्लाको उत्पादन घटाउन खोजेका हौं, बढी उत्पादन हुँदा हामीसँग खपत गराउने र राख्ने यन्त्र छैन। मूल्य पनि समायोजन होस् र बजारको सन्तुलन नबिग्रियोस् भनेर चल्ला र अण्डा उत्पादनको सन्तुलन कायम गर्न खोजिएको हो,’ उनले भने।

चल्ला र अण्डा नष्ट गरेपछि किसानकै खोरबाट एक किलो ब्रोइलरमा डेढ सय रुपैयाँ बढाउने संघको योजना देखिन्छ। अहिले ब्रोइलर किसानले एक सय पचास रुपैयाँमा खोरबाट ब्रोइलर बेचिरहेका छन्।

साना व्यापारीले ब्रोइलर प्रतिकेजी २७० रुपैयाँमा किन्छन्। उपभोक्ताले भने एक किलोको तीन सय २० रुपैयाँभन्दा बढी तिरिरहेका छन्।

संघको योजनाअनुसार खोरमै ब्रोइलरको मूल्य दोब्बर भयो भने उपभोक्तासम्म पुग्दा एक किलो मासुको मूल्य पाँच सय रुपैयाँ पर्न सक्छ।

कृषि तथा पशुपंक्षी मन्त्रालयले बिचौलियाले नाफा खान उत्पादकको चल्ला र अण्डा नष्ट गरिएको भन्दै कारबाही गर्ने चेतावनी दिएको छ।

मन्त्री घनश्याम भुसालले चल्ला र अण्डा नष्ट गरिएको खबर आएपछि बुझ्ने काम भइरहेको बताए।

‘यो कार्टेलिङ हो। केही सीमित मान्छेले नाफा कमाउन उत्पादकको निजी सम्पत्ति नष्ट गरेका छन्, छानबिन गरी कारबाही गर्छौं,’ भुसालले सेतोपाटीसँग भने, ‘व्यवसाय र वितरण प्रणालीलाई नै नियन्त्रण गर्ने प्रयास गरिएको छ। यसमा कारबाही हुन्छ।’

केही समयपहिला पक्षी र पक्षीजन्य उत्पादन भारतबाट आयात गरिन्थ्यो। त्यसले नेपाली उत्पादनलाई निरूत्साहन गरेको र रोगसमेत पक्षीजन्य रोगसमेत भित्र्याएको भन्दै सरकारले आयात विस्थापन गरेको थियो। त्यसपछि नेपाली उत्पादनले बजार पनि पाएको थियो र उत्पादकले मूल्य पनि पाएका थिए।

वाणिज्य तथा आपूर्ति विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीका अनुसार मासुको मूल्य बजारले नै तोक्ने हो। तर, अप्राकृतिक ढंगले बढाउने नियतले गतिविधि गरे त्यसलाई नियन्त्रण गरिने सुवेदीले बताए।

‘चितवनलगायत केही ठाउँमा मूल्य र वितरण प्रणालीमा असर पर्ने गरी उत्पादन नष्ट गरिएको बुझिएको छ, यसबारेमा हामी जानकारी लिइरहेका छौं।’

प्रकाशित मिति: शुक्रबार, पुस ४, २०७६

ताजा अपडेट