हेडलाईन न्युज

नेकपा स्थायी कमिटी बैठक : विधान र प्रतिवेदन भाेलि पास हुने

५ पुस २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको चौथो बैठक छैटौं दिन आज मिति २०७६ पुस ५ गते पार्टी अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा केन्द्रीय कार्यालय, धुम्बाराहीमा बस्यो ।

पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओली र अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि महासचिव विष्णुप्रसाद पौडेलले आफ्नो धारणा राख्नुभएपछि छलफलका क्रम पूरा भयो । बैठकमा सबै सदस्यहरुले राख्नुभएका आ–आफ्ना धारणाहरुको सम्बन्धमा स्पष्ट पार्न पार्टी सचिवालयको बैठकसमेत बस्यो । तदनुरुप बैठकमा पार्टी अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न विषयमा प्रष्ट्याउने र परिमार्जन गर्ने विषयहरु राख्नुभयो । यसैगरी विधान संशोधन प्रस्तावका सम्बन्धमा उठेका जिज्ञासाहरुका बारेमा महासचिव विष्णुप्रसाद पौडेलले प्रष्ट गर्नुभयो ।

अध्यक्ष कमरेडले प्रतिउत्तर सम्बोधनका क्रममा स्थायी कमिटीको बैठकमा व्यक्त विचारहरुले पार्टीलाई सुदृढीकरण गर्न, एकतालाई तीब्रता प्रदान गर्न, तीनै तहको सरकारलाई प्रभावकारी बनाउन र देशलाई सही दिशामा अघि बढाउन मद्दत पुगेको विचार व्यक्त गर्नुभयो । अध्यक्ष र महासचिवको प्रतिउत्तर सम्बोधनपछि पनि सदस्यहरुले विभिन्न विषयहरुमा पुरक जिज्ञासाहरु राख्नुभयो र तिनलाई थप प्रष्ट्याउने कार्य भएको छ । प्रतिवेदन र विधान संशोधन प्रस्तावलाई निष्कर्षका रुपमा पारित गर्ने काम भोलिको बैठकबाट गरिनेछ ।

स्थायी समितिको अर्को बैठक भोलि पुस ६ गते बिहान ११ बजे धुम्बाराही, काठमाडौंमा बस्ने छ।

प्रकाशित मिति: शनिबार, पुस ५, २०७६