खेल हेडलाईन न्युज

१३औं साग आजदेखि सुरु हुँदै, राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने

काठमाडौं : दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करण आइतबार सुरु हुँदै छ। नेपालले सन् २०१६ मा यो प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको थियो। नेपालले जिम्मेवारी पाएको दुई वर्षभित्र यो प्रतियोगिता आयोजना गर्नुपथ्र्यो। तर, अपर्याप्त भौतिक पूर्वाधारका कारण पटकपटक प्रतियोगिता स्थगित हुँदै आएको थियो।

चौथो पटक तोकिएको मितिमा आएर १३औं सागले साकार रूप लिने अवसर जुरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिता उद्घाटन गर्नेछिन्। १३औं सागकै लागि रंगशाला पुनर्निर्माण गरिएको हो। विनाशकारी भूकम्पले रंगशालामा समेत क्षति पुर्‍याएको थियो। त्यसयता रंगशालामा हुन लागेको यो पहिलो प्रतियोगिता हो।

सागलाई दक्षिण एसियाली क्षेत्रको ‘मिनी ओलम्पिक’ का रूपमा हेरिन्छ। यसपटक प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटान गरी सात राष्ट्र सहभागी छन्। यसअघि सागमा आठ राष्ट्रको सहभागिता रहने गरेको थियो। यो संस्करणदेखि अफगानिस्तानले सागमा भाग नलिने निर्णय गरेको छ।यद्यपि अन्तिम समयमा आएर अफगानिस्तानले केही खेलमा भाग लिने प्रस्ताव गरेको थियो। तर, अफगानिस्तानको उक्त प्रस्ताव अस्वीकार भयो।

नेपाली खेल अधिकारीहरुले १३औं सागको सम्पूर्ण तयारी पूरा भएको बताएका छन्। युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताए। ‘मंसिर १५ गते साँझ ५ बजे दशरथ रंगशालामा राष्ट्रपतिज्यूले साग समुद्घाटन गर्नुहुनेछ। यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ’, उनले भने। उनले सागमा सहभागी हुन आउने विशिष्ट पाहुना र अतिथिलाई स्वागत गर्न आफूहरू व्यग्र प्रतीक्षामा रहेको बताए।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवालले प्रतियोगिताको तयारी पूरा भएको बताए। उनले भौतिक संरचना निर्माणकार्य सम्पन्न भएको जानकारी दिए। विदेशी पाहुना र खेलाडीको बसोबाससम्मको सम्पूर्ण तयारी पूरा भइसकेको सिलवालले बताए।

प्रतियोगिता समापन समारोह मंसिर २४ साँझ दशरथ रंगशालामा हुनेछ। १३औं सागमा २७ वटा खेल समावेश गर्ने घोषणा गरिएको थियो। तर, प्याराग्लाइडिङमा नेपालबाहेक अन्य देशले सहभागिता नजनाएपछि खेल संख्या घटेर २६ पुगेको छ। १३औं सागका खेल नेपालका तीन सहरमा हुनेछन्। एक खेल जनकपुरमा हुनेछ भने आठवटा खेल पोखरामा खेलाइनेछ। अन्य खेल भने काठमाडौं र ललितपुरका विभिन्न स्थानमा हुनेछन्।

प्रतियोगितामा तीन सय १७ स्वर्ण, सोही संख्यामा रजत र चार सय ८१ कांस्य गरी कुल एक हजार एक सय १५ वटा पदकका लागि प्रतिस्पर्धा हुनेछ। खेलसंख्या र पदकसंख्याका आधारमा यो हालसम्मकै सबैभन्दा बृहत् साग हो।१३औं सागका लागि गठित प्राविधिक समितिका संयोजक गंगाबहादुर थापामगरले सागका लागि आवश्यक प्रशिक्षक, रेफ्री, निर्णायक, पदक, खेलस्थल, खेल सञ्चालनको समय, उच्चस्तरीय प्राविधिक डेलिगेट्सको व्यवस्थापन, खेल तालिकालगायत सम्पूर्ण तयारी पूरा भएको बताए। उनले सागमा राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी दुई हजार ३५ जना प्राविधिक जनशक्ति सक्रिय रहने जानकारी दिए।

१३औं सागका लागि सुरक्षा व्यवस्था पनि कडा पारिने भएको छ। सागका लागि गठित सुरक्षा समितिका संयोजक एवं नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले सागको सुरक्षा व्यवस्थामा कमजोरी नहुने दाबी गरे। खनालले सागका लागि १८ हजारभन्दा बढी सुरक्षाकर्मी तैनाथ गरिने बताए। ‘सागका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसहितको सुरक्षा टोली खडा गरिएको छ।

ट्राफिक व्यवस्थापनलगायत विशिष्ट पाहुनाको सुरक्षामा हामी कुनै कमजोरी हुन दिने छैनौं,’ महानिरीक्षक खनालले भने। उनले खेलाडी र पाहुनाका लागि विमानस्थल, समारोह र खेलस्थल, आवास, सपिङ मल, सवारीमार्ग, पार्किङस्थललगायतका ठाउँमा विशेष सुरक्षा प्रदान गरिने जानकारी दिए।

यसपटक सागमा फुटबल, क्रिकेट, भलिबल र बास्केटबल खेलमा दर्शकका लागि शुल्कको व्यवस्था गरिएको छ। अन्य खेल भने दर्शकका लागि निःशुल्क गरिएको छ। पहिलोपटक दशरथ रंगशालामा दर्शकलाई सिट नम्बरसहितको टिकटको व्यवस्था गरिएको राखेपले जनाएको छ। दर्शकले टिकट लिन फोटोसहितको परिचयपत्र अनिवार्य देखाउनुपर्नेछ।

दशरथ रंगशालाको क्षमता १५ हजार नौ सय भए पनि सुरक्षालाई ध्यानमा राखी १४ हजार टिकट मात्र बिक्री गरिने बताइएको छ। काठमाडौंको ट्राफिक चापलाई दृष्टिगत गरी सागको उद्घाटनका दिन मंसिर १५ गते बिजोर र समापनका दिन मंसिर २४ गते जोर नम्बरको गाडी मात्र चलाउन पाउने व्यवस्था गरिएको छ। नेपालले यसपटक सागमा ऐतिहासिक सफलता हासिल गर्ने लक्ष्य राखेको छ। राखेप सदस्यसचिव सिलवालले १३औं सागमा कम्तीमा ५० वटा स्वर्ण पदक जित्ने दाबी गरेका छन्।

‘१३औं सागका लागि हामीले निकै राम्रो तयारी गरेका छौं। अधिकांश खेलका खेलाडीलाई वैदेशिक प्रशिक्षणमा पठाएका छौं। देशभित्रै तयारी गरेका खेलका लागि पनि विदेशी प्रशिक्षकको व्यवस्था गरेका छौं। खेलाडीको सेवासुविधामा पनि विशेष ध्यान दिएका छौं। त्यसैले हाम्रो लक्ष्य भनेको ऐतिहासिक सफलता हात पार्नु हुनेछ’, उनको दाबी छ।

प्रतियोगिता उद्घाटन समारोहमा दीप प्रज्वलन गरिने ओलम्पिक टर्चको र्‍याली पनि देशका विभिन्न भागको परिक्रमा गरी काठमाडौं फर्कने क्रममा छ। टर्च र्‍याली गत शुक्रबार काठमाडौंको स्वयम्भू स्तूपबाट सुरु भएको थियो। सातवटै प्रदेशका मुख्य सहर भ्रमणपछि टर्च र्‍याली उद्घाटन स्थलमा ल्याइनेछ। राखेपले नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको समन्वयमा टर्च र्‍याली आयोजना गरेको हो।

उद्घाटन समारोहमा कीर्तिमान तेक्वान्दो खेलाडी दीपक बिष्टले ओलम्पिक ज्योति प्रज्ज्वलन गर्ने बताइएको छ। खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठका अनुसार ओलम्पिक ज्योति प्रज्ज्वल गर्न बिष्टको नाममात्र प्रस्ताव गरिएको छ। बिष्ट दक्षिण एसियाली खेलकुदको इतिहासमा लगातार चारवटा संस्करणमा स्वर्ण पदक जित्ने एकमात्र खेलाडी हुन्।

विभिन्न समयमा देशका लागि ओलम्पिक खेल्ने १२ जना ओलम्पियनले ओलम्पिक टर्च उद्घाटन समारोहमा पुर्‍याउनेछन्। ओलम्पिक टर्च बोक्ने ओलम्पियनहरू जितबहादुर केसी, वैकुण्ठ मान्धर, उमेश मास्के, दीपक बिष्ट, राजेन्द्र भण्डारी, नयना शाक्य, देवु थापा, ज्ञानबहादुर बोहरा, टीकाराम श्रेष्ठ, राजकुमारी पाण्डे, कान्छीमाया कोजू र मुकुन्दहरि श्रेष्ठ हुन्।

प्रतियोगितामा सहभागी हुन विभिन्न राष्ट्रबाट खेलाडी, पदाधिकारी, निर्णायक, सञ्चारकर्मी र विदेशी पाहुना नेपाल आउने क्रम सुरु भइसकेको छ। प्रतियोगिताका लागि सात हजारभन्दा बढी विदेशी खेलकर्मी र पाहुना नेपाल आउने अनुमान छ। प्रतियोगितामा नेपालले मात्रै २६ वटै खेलमा सहभागिता जनाएको छ। भलिबल खेल भने बुधबार नै सुरु भइसकेको छ। प्रतियोगिताका लागि काठमाडौंलाई झकिझकाउ पारिएको छ। सहरका विभिन्न भागमा स्वागतद्वार बनाइएको छ। यसैगरी सहरका मुख्यमुख्य चोकमा साग सफलताको कामना गर्दै डिजिटल डिसप्ले बोर्ड, फ्लेक्स र ब्यानर राखिएका छन्।

सागका लागि गठित प्रचारप्रसार तथा प्रकाशन समितिका संयोजक शिव कोइराला साग सफलताको सन्देश प्रवाह गर्न आफूहरू तयार रहेको बताउँछन्। ‘प्रतियोगिता प्रचारप्रसारका लागि कुनै कसर बाँकी राखिएको छैन। स्वदेशी तथा विदेशी सञ्चारकर्मीलाई छिटोछरितो रुपमा प्रतियोगिताका गतिविधि उपलब्ध गराउन पनि हामी तम्तयार अवस्थामा छौं’, उनी भन्छन्।प्रतियोगितामा नेपालले सबैभन्दा ठूलो पाँच सय ९४ र भुटानले सबैभन्दा सानो एक सय १७ सदस्यीय टोली सहभागी गराउँदै छ। यसैगरी श्रीलंकाले पाँच सय ५६, भारतले पाँच सय ३५, बंगलादेशले चार सय ७८, पाकिस्तानले तीन सय ७८ र माल्दिभ्सले दुई सय ५२ सदस्यीय टोली सहभागी गराउने भएको छ।

नेपालले दक्षिण एसियाली खेलकुद आयोजना गर्न लागेको यो तेस्रो पटक हो। सन् १९८४ को सेप्टेम्बर १७ देखि २३ तारिखसम्म नेपालमा साफ खेलकुदको पहिलो संस्करण आयोजना भएको थियो। त्यसपछि सन् १९९९ को सेप्टेम्बर २५ देखि अक्टोबर ४ तारिखसम्म आठौं संस्करण पनि नेपालमै आयोजना भएको थियो। आठौं संस्करणमा नेपाल ३२ स्वर्ण, १० रजत र २४ कांस्य पदक जित्दै तालिकामा दोस्रो भएको थियो। सागको इतिहासमा नेपालको यो सबैभन्दा ठूलो उपलब्धि हो।

दक्षिण एसियाली खेलकुदको योजनाकार पनि नेपाल हो। पहिले यो प्रतियोगिता दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) का रूपमा सुरु भएको थियो। सन् २००४ पछि यो प्रतियोगिताको नाम परिवर्तन गरेर दक्षिण एसियाली खेलकुद (साग) राख्ने निर्णय गरियो। सम्पूर्ण खेलकुद गतिविधि ओलम्पिक अभियानअन्तर्गत सञ्चालन हुने भएकाले सागको नाम परिवर्तन गरी साग र महासंघको नाम दक्षिण एसियाली ओलम्पिक काउन्सिल राख्ने निर्णय गरिएको थियो। यो निर्णय दक्षिण एसियाली खेलकुद महासंघको सन् २००४ मा बसेको ३२औं बैठकले गरेको थियो।

प्रकाशित मिति: आइतवार, मंसिर १५, २०७६