हेडलाईन न्युज

निजामती सेवाका व्यक्तिगत र संरचनागत समस्या हटाउँछु : मन्त्री त्रिपाठी

५ मंसिर, काठमाडौं ।
नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठीले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै उनले व्यक्तिगत र संरचनागत समस्याका कारण काम प्रभावित हुने गरेको भन्दै आफूले त्यस्ता समस्या अन्त्यका लागि प्राथमिकता दिने बताए ।

काम गर्दा राजनीतिक सहमतिका आधारमा गर्ने बताउँदै उनले भने, ‘व्यक्तिपिच्छे कार्यशैली फरक हुन्छ, मेरो कार्यशैली फरक छ । कार्यशैलीअनुसार साथीहरुले मलाई सघाउनुहुन्छ भन्ने विश्वास छ ।’ मन्त्री त्रिपाठीले भने, ‘म राजनीतिक सहमतिमा विश्वास गर्ने भएकाले सहमतिका साथ अघि बढ्छु ।’

अहिलेको निजामती प्रशासनमा नीतिगत र संरचनागत दुवै समस्या रहेको बताउँदै त्यसलाई सच्याउनुपर्ने महसुस आफूले गरेको बताए । ‘एउटा नीतिगत समस्या हो, अर्को संरचनागत समस्या,’ मन्त्री त्रिपाठीले भने, ‘हामीले व्यक्तिलाई दोषि देखिराछौं, संरचना नै कमजोर छ । ड्राइभर बलियो राखिदिएर १० हर्सपावरको गाडी चलाउन दियो भने त उही हो नि समस्या त ।’

संघीय निजामती सेवा ऐन छिटोभन्दा छिटो जारी गर्ने र कर्मचारी समायोजनको क्रममा देखिएका केही मनोवैज्ञानिक समस्याहरु समाधान गर्ने बताए । स्थानीय तह, प्रदेश र संघ बीचको अन्तरसम्बन्धलाई तारतम्य मिलाएर अघि बढ्नुपर्ने बताउँदै उनले त्यसका लागि केही कानुनी संशोधनको आवश्यकता औंल्याए ।

उनले स्थानीय तहमा सामाजिक सुरक्षाको रकमसमेत अर्को शीर्षकमा लगेको पाइएको भन्दै त्यसमा पारदर्शिता ल्याउन आफूले प्राथमिकता दिने पनि बताए ।

प्रकाशित मिति: बिहिबार, मंसिर ५, २०७६