मुख्य समाचार

नेकपाको नेतृत्वमा गोलन्जोर गाउँपालिका घेराउ, प्रहरी होइन प्राविधिक भर्ना गर्न माग

 खुर्कोट, गोलञ्जोर गाउँपालिकाले बार्षिक ७० लाख रुपियाँ तलवभत्तामा खर्च हुनेगरी अनावश्यक रुपमा नगरप्रहरीको ठाउँमा कृषि तथा स्वास्थ्य क्षेत्रका प्राविधिक भर्नाको माग राख्दै स्थानीयवासीले सोमबार गाउँपालिका कार्यालय घेराउ गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गोलञ्जोर गाउँपालिका संगठन कमिटीको नेतृत्वमा सो प्रदर्शन तथा घेराउ गरिएको जनाइएको छ । गाउँपालिका नेतृत्वले जनताको माग र जनप्रतिनिधिको सुझावको बेवास्ता गर्दै एकलौटी रुपमा नगर प्रहरी भर्ना गर्ने निर्णय अगाडि बढाएको भन्दै नेकपा गोलञ्जोरले भदौ २१ गते कडा विज्ञप्ति जारी गरेको थियो । गाउँपालिकाले भदौ १० गते १५ जना नगर प्रहरी भर्ना गर्नको लागि सार्वजनिक सूचना जारी गरेको थियो । सो कार्यको बिरोध गर्दै गाउँपालिकाका तीन वडा अध्यक्षसहित १६ जना सदस्यहरुले गाउँसभाको तत्काल बोलाउन माग गरेका थिए । गाउँपालिका अध्यक्ष पुष्पबहादुर कार्कीले सो मागको बेवास्ता गर्दै एकलौटी रुपमा निर्णय अगाडि बढाएपछि वाध्य भएर बिरोध प्रदर्शन र घेराउ गर्नुपरेको नेकपाले जनाएको छ । गाउँपालिकाको आन्तरिक स्रोत वार्षिक ५० लाख रुपियाँ नभएको तर ७० लाख रुपियाँ खर्च हुने गरी प्रहरी राख्नुभन्दा कृषि र स्वास्थ्य क्षेत्रका प्राविधिक राख्दा जनताले सुविधा पाउने नेकपाका नेता रोशन श्रेष्ठले बताउनुभयो ।
गाउँपालिका कार्यालय घेराउ गर्नुअघि नेकपाको नेतृत्वमा स्थानीय जनताले गाउँपालिकाको नयाँ प्रहरी भर्ना कार्यक्रम खारेज गर, अमिनी, जे.टी.ए., नर्सलगायत प्राविधिक कर्मचारी भर्ना गर, उठेको कर सार्वजनिक गर, गाउँपालिकाको अधिक ब्ययभार कम गर, पूर्व सम्झौता कार्यान्वयन गरजस्ता नारा लगाएका थिए । नेकपा गोलन्जोरका अध्यक्ष केपी पोखरेलले प्रतिपक्षीको मागलाई गाउँपालिकाले बेवास्ता गरेको कारण सडकमा उत्रनुपरेको बताउनुभयो ।

प्रकाशित मिति: सोमवार, भदौ २३, २०७६