विदेश

लिबियाका आप्रवासी बन्दीगृह बन्द गर्न आग्रह

त्रिपोली, ३१ असार । शरणार्थी सम्बन्धी संयुक्तराष्ट्र संघीय उच्चायुक्तको कार्यालय (युएनएचसिआर) ले अवैध आप्रवासीलाई नजरबन्द गर्न लिबियामा खोलिएका बन्दीगृहहरु बन्द गर्न आग्रह गरेको छ । युएनएचसिआरले ट्वीट गर्दै २०० जना आप्रवासीलाई तजौरामा नजरबन्द गर्न लागिएको भन्दै लिबियामा असुरक्षाका कारण यी सबै बन्दीगृह बन्द गर्न आह्वान गरेको हो । जुलाईमा लिबियाको राजधानी त्रिपोलीको पूर्वी भेगमा स्थापित यस्तै बन्दीगृहमा भएको क्षेप्यास्त्र आक्रमणमा ५० जनाभन्दा बढी आप्रवासी मारिनुका साथै अरु सयौं घाइते भएका थिए ।

उक्त आक्रमणप्रति पूर्वी क्षेत्रमा सक्रिय विद्रोही पक्ष र राष्ट्रसंघ समर्थित सरकारले एकअर्कामाथि दोषारोपण गरिरहेका छन् ।
विद्रोही समूहले त्रिपोलीलाई नियन्त्रणमा लिन गत अप्रिलदेखि नै सरकारी फौजसँग सशस्त्र भिडन्त गरिरहेको छ । यसक्रममा एक हजारभन्दा बढी नागरिकको ज्यान गइसकेको छ भने एक लाखभन्दा बढी मानिस अन्यत्र पलायन भएका छन् । ञसन् २०११ मा तत्कालीन शासक मोउमार गद्दाफीको शासन पतन भएसँगै लिबियामा हिंसात्मक घटनाहरु बढ्नुका साथै राजनीतिक अस्थिरता चरम अवस्थामा पुगेको छ । एएफपी

प्रकाशित मिति: मङ्लबार, असार ३१, २०७६