मुख्य समाचार समाचार हेडलाईन न्युज

धितोपत्र बोर्ड अध्यक्ष पद रिक्त, नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढ्यो

सुनकोसी न्यूज

वैशाख १५ गते मंगलबार

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदका लागि आवेदन खुला गरिएको छ। सरकारले गठन गरेको सिफारिस समितिले सार्वजनिक सूचना जारी गर्दै योग्य व्यक्तिहरूसँग आवेदन माग गरेको हो।

सूचना अनुसार इच्छुक उम्मेदवारहरूले ७ दिनभित्र अर्थ मन्त्रालय अन्तर्गत वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबारस्थित समितिको सचिवालयमा आफ्नो व्यक्तिगत विवरण पेश गर्न सक्नेछन्।

अध्यक्ष पदका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्नेछ। साथै धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक–वित्तीय, वाणिज्य व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा ७ वर्षको कार्यानुभव अनिवार्य गरिएको छ।

उम्मेदवारको उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ। भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, लागुऔषध कारोबार लगायतका फौजदारी कसुरमा दोषी ठहर भएका व्यक्ति भने आवेदन दिन अयोग्य रहनेछन्।

यसअघि वैशाख ४ गते बोर्डका अध्यक्ष सन्तोष श्रेष्ठले राजीनामा दिएका थिए। त्यसपछि रिक्त रहेको पद पूर्तिका लागि आवेदन खुलाइएको हो।

प्रकाशित मिति: मङ्लबार, बैशाख १५, २०८३

 

 

ताजा अपडेट