सुनकोसी न्यूज
चैत १९ गते बिहिबार
काठमाडौै । इनिसा विकको शव २७ दिनपछि अन्ततः आफन्तले बुझ्ने भएका छन्। न्यायको माग गर्दै लामो समयसम्म शव नबुझेको परिवार अदालतको आदेशपछि सहमत भएको हो। परिवारका अनुसार, बिहीबार दिउँसो भेरी पुल नजिकको सम्झिघाटमा उनको अन्त्येष्टि गरिने तयारी गरिएको छ।
इनिसाको शव विगत २७ दिनदेखि प्रदेश अस्पतालको शव गृहमा राखिएको थियो। दोषीलाई कडा कारबाही गर्नुपर्ने माग राख्दै परिवारले शव बुझ्न अस्वीकार गर्दै आएको थियो।
मंगलबार जिल्ला अदालत सुर्खेतले बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधारगृह पठाउने आदेश दिएको थियो। सोही आदेशपछि परिवार शव बुझ्न तयार भएको हो।
गुर्भाकोट–६, बडाखोली स्थायी घर भएकी १६ वर्षीया इनिसा वीरेन्द्रनगर–१ मा बस्दै आएकी थिइन्। उनी वीरेन्द्रनगरस्थित उषा बालबाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिइन्।
गत फागुन २३ गते बिहान ट्युशन पढ्न जाने भन्दै घरबाट निस्किएकी उनी सोही दिन बिहान करिब ९ बजे वीरेन्द्रनगर–४ स्थित शहीद पार्क नजिकको जंगलमा अचेत अवस्थामा फेला परेकी थिइन्। तत्काल प्रदेश अस्पताल कालागाउँ पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनापछि प्रहरीले चार जना युवकलाई नियन्त्रणमा लिएको थियो। प्रारम्भिक अनुसन्धानमा घटना शंकास्पद देखिएपछि बलात्कारपछि हत्या भएको आशंकामा अनुसन्धान अघि बढाइएको थियो।
इनिसा विकको घटनामा दोषीलाई कडा कारबाही गर्न माग गर्दै देशका विभिन्न स्थानमा प्रदर्शनसमेत भएका थिए।

















Add Comment